राफेल फाइटर जेटमा ड्रोन मार्ने सस्तो रकेट जडान, फ्रान्सद्वारा सफल परीक्षण

873cd3e0-6276-4732-b55f-a1541a286130

नयाँ दिल्ली: फ्रान्सले आफ्नो सबैभन्दा घातक लडाकु विमान राफेलमा ड्रोनहरूलाई सजिलै खसाल्न सक्ने सस्तो ६८ एमएम लेजर-गाइडेड रकेट जडान गरी सफल ‘लाइभ-फायर’ परीक्षण गरेको छ। आधुनिक हवाई युद्धमा महँगा मिसाइलहरूको विकल्पका रूपमा कम लागतका हतियार प्रणाली विकास गर्ने विश्वव्यापी रणनीतिअन्तर्गत फ्रान्सले यो परीक्षण गरेको हो।
​फ्रान्सेली रक्षा खरिद तथा प्रविधि एजेन्सी (डीजीए) का अनुसार उक्त रकेट जडानको सफल परीक्षण फ्रान्सेली वायु तथा अन्तरिक्ष बलको रिसर्च सेन्टर (सीईएएम), डसल्ट एभिएसन र थेल्सको संयुक्त सहकार्यमा गरिएको हो। यस परियोजनालाई ‘लुक एन्टि-ड्रोन सुर एभिएन डी कमब्याट’ (लाडाक) नाम दिइएको छ। फ्रान्सेली वायुसेनाका प्रमुख जनरल जेरोम बेलन्जरले केही समयअघि मात्रै इरान र रुसद्वारा प्रयोग गरिने लामो दूरीका एकतर्फी आत्मघाती ड्रोनहरूलाई खसाल्न लाखौँ युरो पर्ने महँगो ‘माइका’ मिसाइल प्रयोग गर्नु व्यावहारिक नहुने भन्दै सस्तो विकल्पको आवश्यकता औंल्याएका थिए।
​यो नयाँ प्रविधि फ्रान्सले आफ्ना राफेल जेटहरूमा मात्र सीमित नराखी राफेल खरिद गर्ने अन्य मित्र राष्ट्रहरूलाई पनि उपलब्ध गराउन सक्ने जनाएको छ।
​भारतीय वायुसेनामा थपिँदै ११४ राफेल
भारतले पनि आफ्नो वायुसेनालाई थप मजबुत बनाउन ठुलो सङ्ख्यामा राफेल जेट खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। भारतीय रक्षा खरिद बोर्डले ३.२५ लाख करोड भारुको लागतमा ११४ वटा अतिरिक्त बहुउपयोगी (मल्टी-रोल) राफेल फाइटर जेट खरिद गर्ने प्रस्तावलाई स्वीकृति दिइसकेको छ। सम्झौताअनुसार १८ वटा राफेल तयारी अवस्थामा फ्रान्सबाटै सिधै आउने छन् भने बाँकी ९६ वटा जेट भारतकै घरेलु रक्षा उद्योगमा उत्पादन गरिने छ। भारतमा बन्ने ती विमानहरूमा करिब ६० प्रतिशत स्वदेशी कलपुर्जाहरू प्रयोग गरिने छ।
​भारतीय वायुसेनासँग हाल ३६ वटा राफेल विमानको बेडारहेको छ भने भारतीय नौसेनाले पनि २६ वटा राफेलका लागि सम्झौता गरिसकेको छ।

About Author

Advertisement