दुधेको बालासन खोलामा गाडीसहित बगाएको मान्छेहरुलाई स्थानीय दिल कुमार सुब्बाले बचाए ज्यान

1219cd29-520f-4071-a315-c01b87171611

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतको स्थानीय ग्राम पञ्चायत तथा पुलिस प्रशासनको बारम्बार चेताउनी अनि निर्देशलाई उल्लङ्घन गर्दै यस अतिरिक्त पनि बर्खाको समयमा खोलाभित्र पस्ने हुँदा हिजो राती दुधेको बालासन खोलाले एउटा थार गाडी अनि मानिसहरूलाई बगायो। प्राप्त जानकारी अनुसार रातीको समय आएका युवा युवतीहरूको समूह भएको गाडी यहाँको डम्फेटारस्थित खोलामा मनोरञ्जन गर्न गएका थिए। यतिकैमा खोलाको जनस्तर बढ्न थालेपछि गाडीसहित गाडीमा रहेका मानिसहरूलाई बगाउन थाल्यो। घटनाको खबर पाएपछि स्थानीय मानिसहरू त्यहाँ पुगे। उनीहरूलाई बचाउन असम्भव थियो। तर स्थानीय दुधे डम्फेटार निवासी दिलकुमार सुब्बाले आफ्नो ज्यानको पर्वाह नगरी कम्मरमा डोरी बाँधेर उनी खोलाभित्र पसेर चारजनालाई सकुशल उद्धार गरे भने स्थानीय मानिसहरूले पनि यस उद्धार कार्यमा भरपूर सहयोग प्रदान गरे। त्यसपछि गाडीधुरा पुलिस आउटपोस्टलाई खबर गरेपछि तिनीहरूलाई पुलिस प्रशासनले आवश्यक जाँच गरेर अस्पताल पुऱ्याए। प्रत्यक्षदर्शी अनुसार गाडीमा रहेका सबैले मादक पदार्थ सेवन गरेका थिए। गाडी दक्षिण भारतको भए तापनि तर ती सबै युवा-युवतीहरू सिमलबारी नजिक खोपरेलको रहेको पनि थाहा लागेको छ। स्थानीहरूको भनाइ अनुसार यसरी बर्खाको समयमा खोला तथा बगर क्षेत्रमा मानिसहरूलाई पस्न नदिन कठोर निगरानी राखिनुपर्छ। यहाँको विभिन्न क्षेत्रमा प्रत्येक समय पुलिस प्रशासनले गस्ती लगाउनुपर्छ। जतिसक्दो वरिपरीका होटल तथा होमस्टेहरूमा मानिसहरू आए तापनि तर खोला तथा बगरमा तिनीहरूलाई पस्न रोक लगाइनुपर्छ। यसप्रति स्थानीय होटल तथा होमस्टेहरूको पनि प्रमुख दायित्व बन्दछ भनी जनाएका छन्।

About Author

Advertisement