राज्यसभा सांसदको लागि भाजपा विधायक डीटी लेप्चाले बुझाए नामाङ्कन

mla-dorjee-tshering-lepcha_1704622323.jpeg

गान्तोक: भाजपा विधायक डीटी लेप्चाले सिक्किमको एकमात्र राज्यसभा सांसदको लागि नामाङ्कन दर्ता गरेका छन्। उनले मंगलवार बिहान सिक्किम विधानसभामा पुगेर राज्यसभाको लागि उम्मेदवारीता दर्ता गरेका हुन।

३२ आसन भएको सिक्किम विधानसभामा सत्तारुढ एसकेएम पार्टीले उम्मेदवारीता नदिएपछि डीटी लेप्चा राज्यसभा सांसद बन्ने लगभग तय पनि भएको छ।

भाजपा विधायक डीटी लेप्चाले नामाङ्कन अवधि एसकेएम पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोले स्वयं सिक्किम विधानसभामा उपस्थित थिए। सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेती, एसकेएम सरकारका मन्त्रीगण, भाजपा विधायक तथा अध्यक्ष डीआर थापा, सिक्किम भाजपा प्रभारी डाक्टर दिलिप जैसवाल, भाजपाका विधायक तथा पार्टी कार्यकर्ता विधानसभामा उपस्थित थिए।

उल्लेखनीय छ, हाल नाथाङ माचोङ क्षेत्रका विधायक लेप्चा पाँचपटक विधायक र तीन पटक मन्त्रीसमेत भइसकेका छन्। लेप्चा पहिलो पटक सन् १९९४ मा साङ निर्वाचन क्षेत्रबाट सिक्किम विधानसभामा निर्वाचित भएका थिए। तिनले सिक्किम संग्राम परिषदबाट सिट जितेका थिए। सन् १९९९ मा साङ निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै लेप्चा सिक्किम डेमोक्रेटिक फ्रन्टको टिकटमा दोस्रो पटक विधायक चुनिए।

यस कार्यकालमा तिनी वन मन्त्री पनि थिए। यसरी नै तिनी सन् २००४ मा एसडीएफको टिकटमा साङ निर्वाचन क्षेत्रबाट तेस्रो पटक विधायक बने। यसपटक तिनलाई सडक तथा पुल मन्त्री बनाइयो। सन् २०१४ मा लेप्चा सिक्किम विधानसभामा नाथाङ माचोङबाट विधायक चुनिएका थिए भने यसपटक तिनलाई राज्य यातायात मन्त्री बनाइयो।

लेप्चाले सन् २०१९मा एसडीएफको टिकटमा नाथाङ माचोङ निर्वाचन क्षेत्रबाट पुनः चुनाउ जितेका थिए। तर, २०१९ को विधानसभा चुनाउमा सत्तारूढ एसडीएफ पार्टीले हारको सामना गरेपछि सन् २०१९ मा नै तिनी भारतीय जनता पार्टीमा सामेल भएका हुन्।

About Author

Advertisement