महिला उद्यमीलाई बीउ वितरण, जीविकोपार्जन सुधारिने अपेक्षा
गान्ताेक: सिक्किम सरकारको विज्ञान तथा प्रविधि विभाग अन्तर्गतको ‘सिक्किम राज्य विज्ञान तथा प्रविधि परिषद्’ (एसएससीएस&टी) ले राज्यका विभिन्न जिल्लाका महिला स्वयं सहायता समूह (एसएचजी), महिला उद्यमी तथा प्रगतिशील कृषकहरूलाई उच्च गुणस्तरको सिटाके च्याउको बीउ (स्पोन) उत्पादन गरी वितरण गरेको छ।

विज्ञान र प्रविधिको उपयोग गर्दै महिला नेतृत्वमा आधारित दिगो जीविकोपार्जन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो पहल सुरु गरिएको हो।

भारत सरकारको विज्ञान तथा प्रविधि मन्त्रालयको ‘सीड’ डिभिजनको सहयोगमा सञ्चालित ‘वुमन टेक्नोलोजी पार्क’ (डब्लुटीपी) परियोजना अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको छ। गान्ताेकको नामलीमा महिला प्रविधि पार्कका साथै तालिम तथा समुदाय सहजीकरण केन्द्र स्थापना गरी विशेष गरी ग्रामीण क्षेत्रका आर्थिक रूपमा विपन्न महिलाहरूलाई उपयुक्त प्रविधि हस्तान्तरण गर्ने लक्ष्य राखिएको परिषद्ले जनाएको छ।










