मामरिङमा स्वतन्त्रता दिवस पूर्व समारोह तथा फुटबल सेमिफाइनलमा मुख्यमन्त्री सहभागी

FB_IMG_1786644744574

पाक्योङ: ८०औँ स्वतन्त्रता दिवसको पावन अवसरमा मामरङस्थित सरकारी वरिष्ठ माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको विशेष समारोह तथा फुटबल सेमिफाइनल खेलमा सिक्किमका मुख्यमन्त्री एवं रिनाक निर्वाचन क्षेत्रका विधायक प्रेमसिंह तामाङ (गोले) को प्रमुख आतिथ्य रहेको थियो। रिनाक निर्वाचन क्षेत्रको ‘इन्डिपेन्डेन्स डे सेलिब्रेशन कमिटी’ (आईडीसीसी) द्वारा आयोजित उक्त कार्यक्रममा शिक्षा मन्त्री राजु बस्नेत, कृषि मन्त्री पुरन गुरुङ, जिल्ला प्रशासनिक अधिकारीहरू, एसएसबीका उच्च पदाधिकारीहरू लगायत विभिन्न विभागका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।

​कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले ८०औँ स्वतन्त्रता दिवसको पूर्व-सन्ध्यामा सबैमा हार्दिक शुभकामना व्यक्त गरे। भारतको २२औँ राज्यका रूपमा सिक्किमले पाँच दशक यता हासिल गरेका विविध उपलब्धिहरूको चर्चा गर्दै उनले राज्यको समग्र विकासमा जनताले पुर्याएको निरन्तर सहयोगप्रति आभार प्रकट गरे। उनले नवगठित पाक्योङ जिल्लामा पूर्वाधार विकास र जनसेवाका क्षेत्रमा उल्लेख्य सुधार आएको बताउँदै जिल्ला अस्पताल, नयाँ प्रशासनिक भवन र असम लिङ्जेस्थित ‘चीफ मिनिस्टर मोडल स्कुल’ जस्ता मुख्य आयोजनाहरूको विशेष चर्चा गरे। यसका साथै सन् २०२७ देखि ‘आमा सशक्तिकरण योजना’को दायरा विस्तार गरी ५० हजारभन्दा बढी लाभान्वितहरूलाई समेटिने घोषणा गर्दै भोलि आयोजना हुने राज्यस्तरीय ‘तिरङ्गा यात्रा’मा उत्साहजनक सहभागिता जनाउन सर्वसाधारणलाई आह्वान गरे।

​समारोहमा पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी र जनकल्याणमा पुर्याएको योगदानको कदर गर्दै ‘रेनोक टुरिजम डेभलपमेन्ट सोसाइटी’ र आयोजक कमिटीका तर्फबाट मुख्यमन्त्री तामाङलाई विशेष नागरिक अभिनन्दन गरिएको थियो। यसैगरी समाजसेवा र कर्तव्यनिष्ठताका लागि ६९औँ बटालियन एसएसबीका कमान्डेन्ट चिरञ्जीव भट्टाचार्य, रोराथाङ प्रहरी चौकीका नायक सुखबहादुर तामाङ र सरकारी माध्यमिक विद्यालय अम्बाका कर्मचारी रामचन्द्र बास्तोलालाई पनि सम्मान प्रदान गरियो।
​प्रतियोगिता अन्तर्गत खेलिएको ८०औँ स्वतन्त्रता दिवस खुला सेमिफाइनल फुटबल खेलमा रियाल अरिटारले रेन्जर्स-१९ लाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। त्यसैगरी, अन्तर-विद्यालय यु-१४ तर्फको फाइनल भिडन्तमा पीएम श्री दिक्लिङ वरिष्ठ माध्यमिक विद्यालयले रोराथाङ वरिष्ठ माध्यमिक विद्यालयलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि चुमेको छ।

​कार्यक्रममा मामरङ, पदमचे, कामरे र तित्रीबोटेका सरकारी विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। यसका साथै पाचेखानी संस्कृत पाठशालाका विद्यार्थीहरूद्वारा स्वस्ति वाचन, ६९औँ बटालियन एसएसबीको ब्यान्ड डिस्प्ले तथा ट्याटु ड्रिल र ‘नेपाल आइडल’की फाइनालिस्ट अर्पना आचार्यको विशेष सांगीतिक प्रस्तुतिले समारोहमा थप रौनक थपेको थियो।

About Author

Advertisement