गान्तोक: पाल्जोर रंगशालामा सम्पन्न ४२औँ अल इन्डिया राज्यपालको स्वर्ण कप (राज्यपाल गोल्ड कप) फुटबल प्रतियोगिताको उपाधि शिलाङ्लाजोङ एफसीले जितेको छ। रोमाञ्चक फाइनल खेलमा सिक्किमको आक्रमण एससीलाई पराजित गर्दै शिलाङ्लाजोङले च्याम्पियन बन्ने गौरव हासिल गरेको हो।

सिक्किमका माननीय राज्यपाल श्री ओम प्रकाश माथुर र सिक्किम उच्च अदालतका माननीय मुख्य न्यायाधीश श्री न्यायमूर्ति मोहम्मद मुस्ताक आयुमान्ताकाथको प्रमुख आतिथ्य तथा गरिमामय उपस्थितिमा प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको थियो।
कडा प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुम्न सफल शिलाङ्लाजोङ एफसीलाई आयोजक तथा खेलप्रेमीहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। त्यस्तै, उपविजेता बनेको सिक्किम आक्रमण एससीले पनि सम्पूर्ण खेल अवधिभर उत्कृष्ट खेल भावना र जाँगरिलो प्रदर्शन प्रस्तुत गर्दै दर्शकहरूको मन जितेको थियो।

सिक्किमको अनुपम खेलकुद संस्कृतिलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान पुर्याउने यस प्रतिष्ठित प्रतियोगिताका आयोजक, अधिकारीहरू, खेलाडीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा खटिने सम्पूर्ण महानुभावहरूप्रति विशेष आभार प्रकट गरिएको छ।





