दार्जिलिङ पर्यटनलाई विश्व बजारमा पुर्याउने लक्ष्य
सिलगढी: पश्चिम बंगालका पर्यटन मन्त्री डा. शंकर घोषले आज शिलिगढीस्थित स्टेट गेस्ट हाउसमा ‘डिस्कभर दार्जिलिङ’ पर्यटन एपको औपचारिक उद्घाटन गर्नुभएको छ।
दार्जिलिङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र प्रमुख पर्यटकीय गन्तव्यहरूलाई विश्वभरका पर्यटकमाझ अझ सहज रूपमा पुर्याउने उद्देश्यले यो एप ल्याइएको मन्त्री डा. घोषले बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री डा. शंकर घोषले भन्नुभयो, “यो एप दार्जिलिङ पर्यटनका लागि कोशेढुंगा साबित हुनेछ। यस एप मार्फत पर्यटकहरूले विभिन्न पर्यटन सर्किटहरूको बारेमा विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् र आफ्नो भ्रमण योजना अझ सजिलै बनाउन सक्नेछन्।
उहाँले आधुनिक प्रविधिको प्रयोगले दार्जिलिङको पर्यटन प्रणालीलाई अझ विकसित, सहज र पर्यटकमैत्री बनाउने विश्वास व्यक्त गर्नुभयो। यो पहलले पहाडको पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्ने उहाँको भनाइ छ।
समसामयिक सन्दर्भमा प्रभाव :
पछिल्लो समय बंगालको पहाडमा पर्यटकको चाप बढ्दै गएको र होमस्टे, इको-टुरिजम तथा साहसिक पर्यटनको माग बढिरहेको बेला यो एपले महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ।
१.पर्यटकहरूले अब एकै ठाउँमा होटल, होमस्टे, यातायात, ट्रेकिङ रुट र स्थानीय संस्कृतिको जानकारी पाउने भएकाले बिचौलियाको अन्त्य हुनेछ। २. स्थानीय युवा र व्यवसायीले प्रत्यक्ष लाभ पाउने र ‘डिजिटल दार्जिलिङ’ अभियानले रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।
३.अफ-सिजनमा पनि पर्यटक आकर्षित गर्न यसले सहयोग पुर्याउने पर्यटन विभागको विश्वास छ।
कार्यक्रममा पर्यटन विभागका उच्च अधिकारी, दार्जिलिङ, कालेबुङ र मिरिकका पर्यटन व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।





