गान्तोक: हिमाली क्षेत्रमा बारम्बार निम्तिने प्राकृतिक विपद्का जोखिमहरूलाई ध्यानमा राख्दै प्रभावकारी पूर्वचेतावनी प्रणाली (अर्ली वार्निङ सिस्टम) र विपद् पूर्वतयारीबारे व्यापक जनचेतना फैलाउने उद्देश्यले ‘वन फर हिमालय’ अभियान सञ्चालन गरिने भएको छ। जर्नालिस्ट्स युनियन अफ सिक्किम (जेयूएस) र नील तारा केयर्सको संयुक्त आयोजनामा यो क्षेत्रीय अभियान सुरु गर्न लागिएको हो।
बिहीबार गान्तोकमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नील तारा केयर्सकी सदस्य सरीना अबिगेल राईले यस अभियानको मुख्य ध्येय स्थानीय समुदाय, नेतृत्वकर्ता तथा निर्णयकर्ताहरूलाई विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीको महत्त्वबारे सचेत गराउनु रहेको बताइन्।
पत्रकार सम्मेलनमा जेयूएसका अध्यक्ष प्रविण खालिङले अभियानलाई प्रभावकारी र कलात्मक बनाउन क्षेत्रका प्रतिष्ठित कविहरूले स्वेच्छाले आफ्ना कविताहरू उपलब्ध गराएको जानकारी दिए। यस अभियानमा डा. राजेन्द्र भण्डारी, केवलचन्द्र लामा, प्रवीण राई जुमेली, रमिका थापा, प्रवीण खालिङ, गुरु टी. लाधाकी, सुरज गुरुङ, सरोजिनी सुब्बा, श्रवण मुकारुङ, एन.बी. घिमिरे र पल्लवीजस्ता दिग्गज स्रष्टाहरूले साहित्यिक योगदान दिएका छन्। अभियानअन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरूले यी कविताहरू वाचन गर्दै प्राकृतिक विपद्को सामना कसरी गर्ने भन्नेबारे सन्देश प्रवाह गर्नेछन्।
हालैका वर्षहरूमा नेपालमा आएको विनाशकारी बाढी तथा सन् २०२३ अक्टोबरमा सिक्किममा घटेको हिमताल विस्फोटजन्य बाढीले हिमाली भेगका मानिसहरू कत्तिको जोखिममा छन् भन्ने तथ्यलाई उजागर गरेको छ। यसै पृष्ठभूमिमा ‘वन फर हिमालय’ अभियान सिक्किम, दार्जिलिङ, कालेबुङ र पूर्वी नेपालका विभिन्न स्थानहरूमा सञ्चालन गरिने योजना बनाइएको छ।
अध्यक्ष खालिङका अनुसार सिक्किममा यस अभियानको पहिलो चरणको कार्यक्रम आगामी १ नोभेम्बरमा आयोजना हुनेछ। उनले यस अभियानमा जोडिनका लागि विभिन्न विद्यालयहरूलाई आह्वान गर्दै विपद्को प्रभाव कम गर्न सामूहिक प्रयासको खाँचो रहेको बताए। आयोजकहरूले पत्रकार, कवि, विद्यार्थी र स्थानीय समुदायलाई एउटै मञ्चमा ल्याएर यस पहललाई क्षेत्रीय सीमाभन्दा माथि उठाएर विश्वस्तरसम्म पुर्याउने लक्ष्य राखेका छन्।





