कालेबुङ: भारतीय जनता पार्टी कालेबुङ विधानसभा क्षेत्रको निम्ति कालेबुङ मङ्गलधाम नजिक पार्टी कार्यालयको उद्घाटन गरिएको छ। दार्जिलिङका सांसद राजु बिष्टको विशेष उपस्थितिमा कालेबुङ विधानसभा क्षेत्रको निम्ति उक्त दलीय कार्यालयको उद्घाटन गरिएको छ। विशेष पूजापाठ सम्पन्न गरेर सांसद राजु बिष्ट अनि भाजपा जिल्लाका पदाधिकारीहरूको बाहुलीबाट उक्त कार्यालयको उद्घाटन गरिएको छ। उक्त कार्यालयबाट जनसरोकारका विविध विषयलाई अघि बढाउन जनसाधारणको सुविधा हेतु कार्यालय खोलिएको सांसद राजु बिष्टले बताएका छन्। दलीय कार्यालय उद्घाटनपछि सांसद राजु बिष्टले पत्रकारहरूसँग कुराकानी गर्दै भ्रष्टाचारमा लिप्त भएका अन्य दलका नेताहरुलाई दलमा कुनै स्थान नदिने तथापि जनताले पाउनुपर्ने योजनाहरूको लाभ भने आफूहरुले निष्पक्ष रुपमा निरन्तर जारी राख्ने बताएका छन्। यसरी नै उनले पहाड तराई डुवर्सको दीर्घकालीन नाम राजनैतिक समाधान चाँडै अघि बढाउने कुरामा आफू आजदेखि नै लागि परेको बताएका छन्। उक्त विषयलाई लिएर देशका गृहमन्त्रीले समेत पहल गरिरहेकोले चाँडै नै यसको समाधान हुने कुरामा आफू विश्वस्त रहेको बताएका छन्।









