काठमाडौँ(नेत्र बिक्रम बिमली): नेपाली राजनीतिको मियो मानिने नेकपा (एमाले) भित्र आन्तरिक शक्ति सन्तुलनमा तीव्र फेरबदलको सङ्केत देखा परेको छ। लामो समयदेखि पार्टीमा एकछत्र नेतृत्व गर्दै आएका अध्यक्ष केपी शर्मा ओलीमाथि पदत्यागका लागि उनकै ‘सारथि’हरूबाट दबाब बढेको छ भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको बाटो खुला भएको छ। विगतका महाधिवेशनमा ओलीलाई बलियो साथ दिएका भनिएका शीर्ष नेताहरू नै अहिले नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन्। पार्टी नेतृत्व हस्तान्तरणका लागि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलबीच आन्तरिक सहमति भइसकेको समाचारहरू बाहिरिएका छन्। पौडेलले यसबारे सार्वजनिक रूपमा खुल्न नचाहे पनि समय आएपछि कुरा गर्ने बताएका छन् भने संस्थापन पक्षको दरो प्रतिरक्षा गर्दै आएका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पनि पोखराको एक कार्यक्रममा नेतृत्व फेर्नु समयको माग भएको सङ्केत गरेका छन्। यद्यपि, गुरुङले अनुहार मात्र नभई सङ्गठनको कार्यशैली नै बदल्नुपर्नेमा जोड दिएका छन्। एमाले नेता कर्ण थापाले त ऐतिहासिक असफलता र सर्मनाक अवस्थाको जिम्मेवारी लिँदै मुख्य नेताको हैसियतले ओलीले निकास दिनुपर्ने र कुनै पनि बहानामा उहाँको बहिर्गमन नरोकिने दाबी गरेका छन्।
यसैबीच, पार्टी सचिवालयको आठौँ बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले सदस्यता कायम गर्ने निर्णय गरेपछि राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ। पार्टी सचिव पद्मा अर्यालले यस निर्णयको पुष्टि गरिसकेकी छन्। विगतमा भण्डारीको पुनरागमन रोक्न खोजेका ओलीले अहिले चौतर्फी सङ्कट टार्न उनलाई अघि सार्न खोजेको विश्लेषण पनि हुन थालेको छ। मदन-आश्रित स्मृति दिवसको अवसरमा भण्डारीलाई प्रमुख अतिथि बनाइनु र ओली-भण्डारीबीच भएको भेटवार्ताले एमाले वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। तर, संस्थापनइतर पक्षका नेताहरू भण्डारीको पुनरागमनले मात्र ओलीको बहिर्गमनको माग नरोकिने बताउँछन्।
आफ्नो दलभित्र नेतृत्व परिवर्तनको दबाब झेलिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच पुन: सहकार्य हुन सक्ने आकलन पनि गरिएको छ। अस्पतालबाट डिस्चार्ज भएपछि ओली र प्रचण्डबीच भेटवार्ता भएको र प्रचण्डले पछिल्लो समय वामपन्थी एकता अनिवार्य भएको बताउँदै आएका छन्। तर, यस एकता प्रयासलाई नेताहरूले नेतृत्वको असफलता ढाकछोप गर्ने रणनीतिको रूपमा अर्थ्याएका छन्। माओवादी नेता हरिबोल गजुरेलले असफल नेतृत्वले आत्मालोचनासहित राजीनामा दिनु र सापेक्षिक क्रान्तिकारी शक्तिहरू अघि बढ्नु नै वास्तविक समाधान भएको बताएका छन् भने एमाले नेता कर्ण थापाले माथिका नेताहरूको टाउको मिलाएर गरिने अर्थहीन एकता विगतमा विफल भइसकेको टिप्पणी गरेका छन्। एमालेभित्र संस्थागत रूपमै नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाउने सहमति जुट्दै गर्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवेशले पार्टीको भावी दिशा कुन मोडमा पुग्छ भन्ने कौतुहलता बढाएको छ।











