रंगबुलमा साइबर अपराध तथा बाल संरक्षणसम्बन्धी सामुदायिक सचेतना कार्यक्रम सम्पन्न

f56c3a73-2a55-451c-99c0-f4387e778351

सोनादा: बाल सुरक्षा अभियानले सुनाखरी संघ, रङगबुलसँगको सहकार्यमा रंगबुल बांग्लाडाडा सार्वजनिक भवनमा साइबर अपराध, अनलाइन सुरक्षा तथा बाल यौन दुर्व्यवहार सम्बन्धी सामुदायिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा समुदायका सदस्यहरू, विद्यार्थी, शिक्षक तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य अनलाइन सुरक्षा, साइबर अपराध रोकथाम, बाल संरक्षण तथा बाल अधिकार उल्लङ्घनका घटनाबारे समयमै जानकारी गराउने महत्त्वका विषयमा समुदायमा सचेतना अभिवृद्धि गर्नु रहेको थियो। कार्यक्रमको उद्घाटन सुनाखरी संघका अध्यक्ष शरणकुमार लिम्बुले स्वागत मन्तव्यसहित गरेका थिए। उनले सहभागीहरूलाई स्वागत गर्दै ‘बाल सुरक्षा अभियान’को टोलीको परिचय गराएका थिए। यसको साथै बालबालिकाको सुरक्षा सुनिश्चित गर्न र युवाहरूका लागि सुरक्षित वातावरण निर्माण गर्न सामुदायिक सहभागिता अपरिहार्य रहेकोमा जोड दिएका थिए।
कार्यक्रमको प्राविधिक सत्र दावा जिम्बाले सहजीकरण गरेका थिए। उनले अनलाइन सुरक्षा, साइबर अपराध तथा बाल यौन दुर्व्यवहारसम्बन्धी विस्तृत प्रस्तुतीकरण गर्दै साइबर खतराका विभिन्न रूप, सुरक्षित इन्टरनेट प्रयोग, सामाजिक सञ्जालको जिम्मेवारपूर्ण उपयोग, साइबर ठगी, ‘अनलाइन ग्रुमिङ’ (बालबालिकालाई अनलाइनमार्फत फकाउने वा लोभ्याउने कार्य) तथा बाल संरक्षणसम्बन्धी कानुनी प्रावधानबारे जानकारी दिएका छन्। उनले बाल यौन दुर्व्यवहारका संकेतहरू पहिचान गर्ने तरिका, घटनाको समयमै जानकारी गराउनुको महत्त्व तथा सम्बन्धित निकायमा उजुरी वा सूचना दिने प्रक्रियाबारे पनि सहभागीहरूलाई अवगत गराएका थिए। सत्रलाई प्रभावकारी बनाउन वास्तविक घटनाका उदाहरण, जानकारीमूलक भिडियो तथा व्यावहारिक दृष्टान्तहरू प्रस्तुत गरिएको थियो। कार्यक्रम अत्यन्त अन्तरक्रियात्मक बनेको थियो। सहभागीहरूले सक्रिय रूपमा प्रश्न राख्दै आफ्ना अनुभव, जिज्ञासा तथा अनलाइन सुरक्षा र बाल संरक्षणसम्बन्धी चिन्ताहरू साझा गरेका थिए। प्रश्नोत्तर सत्रले साइबर अपराध सम्बन्धी विभिन्न भ्रमहरू हटाउन तथा बालबालिकाको सुरक्षाका लागि समुदायको साझा जिम्मेवारीबारे थप स्पष्टता प्रदान गरेको थियो।कार्यक्रमको समापन सामुदायिक प्रतिनिधिद्वारा धन्यवाद ज्ञापनसहित गरिएको थियो। उनले ‘बाल सुरक्षा अभियान, दावा जिम्बा तथा सम्पूर्ण सहभागीहरूलाई कार्यक्रम सफल बनाउन पुर्‍याएको सक्रिय सहभागिता र बहुमूल्य योगदानका लागि हार्दिक आभार व्यक्त गरेका छन्। यसको साथै सुरक्षित समुदाय निर्माण र बाल संरक्षणलाई अझ प्रभावकारी बनाउन यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याएका थिए। कार्यक्रमले साइबर अपराध, अनलाइन सुरक्षा तथा बाल संरक्षणसम्बन्धी सहभागीहरूको ज्ञान अभिवृद्धि गर्नुका साथै बालबालिकाको सुरक्षा र जिम्मेवार डिजिटल व्यवहार प्रवर्द्धनमा सामुदायिक सहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको जानकारी दावा जिम्बाले दिएका छन्।

About Author

Advertisement