खरसाङ: भारतीय जनता पार्टीको मण्डल ११ अनि १२ को संयुक्त आयोजनामा पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण खरसाङको नयाँ बजारस्थित सामुदायिक भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा दार्जीलिङ जिल्ला उपाध्यक्ष आरबी लामा, जिल्ला सचिव निरज थापा, जिल्ला सामाजिक सञ्जाल प्रभारी चन्दन प्रसाद, जिल्ला युवा सशक्तीकरण अनि अध्ययन केन्द्र सदस्य डा कमल भुजेल अनि मण्डल ११ अध्यक्ष सञ्जय थापा अनि मण्डल १२ की अध्यक्षा दीक्षा तामाङको साथ सम्पूर्ण मण्डल स्तरीय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। दीप प्रज्वलन गर्दै स्वागत भाषण दिक्षा तामाङले राखेकी थिइन्।
यस प्रशिक्षणको मूख्य उद्देश्य आफ्ना कार्यकर्ताहरूलाई भाजपा पार्टीको सिद्धान्त, कार्यशैली, इतिहास, आपदा व्यवस्थापन अनि मिडिया र एआईको प्रयोगहरूबारे जानकारी दिइएको थियो।
शुरूमा जिल्ला सचिव निरज थापाले भाजपा पार्टीको ऐतिहासिक विश्लेषण अनि सैद्धान्तिक ढाँचाबारे जानकारी दिए। यस क्रममा जिल्ला कानुनी सल्लाहकार रमेश अग्रवालले भाजपा पार्टीको कार्यशैलीबारे जानकारी दिएका थिए।
त्यसपछि पहाड अनि मधेश क्षेत्रमा पाकृतिक आपदाबारे विस्तृत जानकारी डा कमल भुजेलले दिएका थिए साथै, आपदा भन्ने कुरा प्राकृतिक रूपमा मात्र नभएर हाम्रो व्यक्तिगत जीवनदेखि समाजमा, पार्टीमा पनि आपदा आइरहेको हुन्छ। मानसिक आपदाहरूसित कसरी लड्नु पर्ने भन्नेबारे उनले जानकारी दिए। उनले बुथ स्तरदेखि मण्डल स्तरसम्म आपदा प्रबन्धन टोली बनाउनु पर्ने योजनाहरू बताएका छन्। त्यसपछि वर्तमानमा सोसियल मिडिया अनि एआइको प्रयोगबारे जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले बताए अनि भाजपाको कार्यकर्ता भइसकेपछि भाजपा पार्टीको सरल एप, नमो एप अनि भाजपाको अनलाइन सदस्यता लिनु नै पर्ने बताए।

जिल्ला भाजपा उपाध्यक्ष आरबी लामाले बुथ सशक्तीकरणबारे जानकारी दिए। उनले एसआइआरमा नाम काटिएकोबारे कारण अनि उपायहरू बताए। यस क्रममा विकास परियारले युवा सशक्तीकरणबारे वक्तव्य राखे। प्रशिक्षणको बीच बीचमा सांस्कृतिक कार्यक्रमहरूको पनि प्रस्तुति रहेको थियो। अन्त्यमा मण्डल ११ का अध्यक्ष सञ्जय थापाले धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन गरिएको जानकारी प्राप्त भएको छ।









