गोरामुमो सोनादा पचेङ्ग समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20260719-WA0076(1)

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा पचेङ्ग समष्टिको मुण्डा बस्ती शाखामा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भएको छ। पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङका अनुसार उक्त सभा बुद्ध तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन देवकुमार छेत्रीले गरेका थिए। सभामा समष्टि अध्यक्ष भुपेन्द्र गुरुङ, समष्टि सहसचिव प्रणित थापा, वरिष्ठ गोरामुमो नेता निर्मल चन्द्र राई, सन्तोष प्रधान, शुद्ध तामाङ, सागर तामाङ, सुरज रावत लगायत समष्टि अन्तर्गतका विभिन्न शाखा–प्रशाखाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले मुण्डा बस्ती शाखाको पुरानो कार्यसमितिलाई विघटन गर्दै नयाँ शाखा कमिटी गठन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। त्यस अनुसार नवगठित शाखा कमिटीमा सुरज रावत अध्यक्ष, मदन छेत्री उपाध्यक्ष, नवीन सचिव, रोमन प्रधान सहसचिव तथा बिजय गुरुङ कोषाध्यक्षमा सर्वसम्मतिले चयन भएका छन्। त्यसै गरी अरुण तामाङलाई कार्यसमितिमा जिम्मेवारी प्रदान गरिएको छ भने बुद्ध तामाङ, निर्मल चन्द्र राई, शंकर मुखिया र दिलिप बस्नेत प्रमुख सल्लाहकारमा चयन भएका छन्। साथै अन्य दशजना कार्यकारिणी सदस्यहरू पनि सर्वसम्मतिले चयन गरिएको सभाले जनाएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई समष्टि अध्यक्ष भुपेन्द्र गुरुङले खादा लगाई बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीको सिद्धान्त, अनुशासन र आदर्शलाई आत्मसात् गर्दै संगठनलाई अझ सुदृढ बनाउँदै गोर्खा जाति र माटोको हितका लागि समर्पित भएर कार्य गर्न आग्रह गरे। सभालाई सम्बोधन गर्दै समष्टि अध्यक्ष भुपेन्द्र गुरुङले वर्तमान राजनीतिक परिस्थितिबारे विस्तृत धारणा राख्दै गोरामुमो अध्यक्ष मन घिसिङको सोच र नेतृत्व केवल गोर्खा जातिको उन्मुक्ति, न्याय र गोर्खा एकताको लक्ष्यमा केन्द्रित रहेको बताए। उनले अध्यक्ष मन घिसिङको प्राथमिकता सर्वप्रथम गोर्खा जातिले न्याय प्राप्त गर्नु रहेको र त्यसपछि मात्र राजनीतिक प्रक्रियालाई अघि बढाउने रहेको उल्लेख गरे। उनले बजारमा फैलाइने आधारहीन हल्ला र भ्रमबाट सचेत रहन सबैलाई आग्रह गर्दै भने, “भारतका प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत थाहा नभएका विषयलाई लिएर बजारमा विभिन्न हल्ला फैलाइन्छ। यस्ता भ्रमपूर्ण प्रचारको पछि लाग्नु हुँदैन।”
सम्बोधनको अन्त्यमा भुपेन्द्र गुरुङले पहाड, तराई र डुवर्सका सम्पूर्ण गोर्खा जनतालाई एकताबद्ध भएर दरिलो रूपमा उभिन अपिल गर्दै संगठनलाई अझ बलियो बनाउन सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिए।
सभा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

About Author

Advertisement