क्लब पञ्जीकरणको घोषणा
खरसाङ: सिलगढीको प्रख्यात साइकलिङ क्लब रंगटङ्ग पेडलर्स ग्रुपले आईतवार आफ्नो ५औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित पालन गरेको छ। स्थापना दिवसको अवसरमा आईतवार बिहान ६ बजे सिलगढीको हिलकार्ट रोडस्थित कोर्टयार्डबाट कम्युनिटी साइकल राइडको आयोजना गरिएको थियो। उक्त राइडमा मालबजार, मिरिक, दार्जिलिङ, खरसाङ, नक्सलबारी लगायत विभिन्न क्षेत्रका साइकलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो। दार्जिलिङ मोड, सालबारी र सुकना हुँदै राइड ऐतिहासिक रंगटङ्ग रेलवे स्टेशन पुगेर सम्पन्न भएको थियो। रंगटङ्ग रेलवे स्टेशनमा आयोजित कार्यक्रममा सहभागीहरूले राष्ट्रिय गान गाएर कार्यक्रमको शुभारम्भ गरेका थिए। सिलगढीका वरिष्ठ साइकलयात्री जे नरजिनारी र हरि अधिकारीलाई क्लबका अध्यक्ष यादव बान्तावाले खादा ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा सहभागी युवा साइकलिस्टहरूलाई पनि विशेष स्वागत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादव बान्तावाले साइकलिङको महत्त्वबारे प्रकाश पार्दै यसले खेलकुद, शारीरिक स्वास्थ्य, वातावरण संरक्षण तथा मानसिक स्वास्थ्यमा सकारात्मक योगदान पुर्याउने बताए। उनले रङटङ पेडलर्स ग्रुपको पञ्जीकरण औपचारिक रूपमा पूरा भएको घोषणा गर्दै यसलाई सम्पूर्ण साइकलिङ समुदायको साझा उपलब्धि भएको उल्लेख गरे। स्मरण रहोस् , आरपीजी क्षेत्रकै पहिलो औपचारिक रूपमा दर्ता भएको साइकलिङ क्लब बनेको छ।

“क्लबको दर्ता सम्पूर्ण साइकलिस्टहरूको लागि खुशीको विषय हो। आगामी दिनहरूमा रङटङ पेडलर्स ग्रुपले विभिन्न साइकल रेस तथा अन्य कार्यक्रमहरू आयोजना गर्नेछ,” अध्यक्ष बान्तावाले भने। त्यसैगरी क्लबका सचिव दीपक सिंहले कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट उपस्थित भएका सम्पूर्ण साइकलिस्ट तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरे। उनले साइकलिङ संस्कृतिको प्रवर्द्धन तथा युवापुस्तालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने क्लबको प्रतिबद्धता दोहोर्याए। स्थापना दिवसको अवसरमा आयोजित सामुदायिक साइकल यात्रा तथा सम्मान कार्यक्रमले साइकलप्रेमीहरूबीच एकता, खेलभावना, आपसी सद्भाव र भाइचाराको सशक्त सन्देश प्रवाह गरेको छ।











