गुवाहाटी : भारतकी उदीयमान ब्याडमिन्टन खेलाडी तथा असमकी छोरी अश्मिता चालिहाले कोरिया मास्टर्सको उपाधि जितेकी छन्। यस ऐतिहासिक सफलतासँगै उनले देशका साथै असम राज्यको नाम समेत उच्च बनाएकी छन्।
अश्मिताको यस सफलतामा खुसी व्यक्त गर्दै असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले उनलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री सरमाले सामाजिक सञ्जालमार्फत बधाई दिँदै कोरिया मास्टर्समा चिनियाँ खेलाडीलाई पहिलोपटक पराजित गर्दै उपाधि जित्नु ऐतिहासिक सफलता भएको उल्लेख गरेका छन्।
”असमकी छोरी अश्मिताले देश र राज्यकै गौरव बढाएकी छन्,” मुख्यमन्त्री सरमाले लेखेका छन्, “तपाईंको यो ऐतिहासिक सफलता नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। आगामी दिनमा अझ धेरै अन्तर्राष्ट्रिय सफलता हासिल गर्दै भारतको नाम विश्वभर चम्काउनुहुनेछ भन्ने आशा र विश्वासका साथ हार्दिक शुभकामना व्यक्त गर्दछु।”









