नयाँ दिल्ली: युक्रेनको सुमी सहरस्थित भारतीय व्यापारी राजीव गुप्ताको औषधि कारखानामा रुसले ड्रोन आक्रमण गरेको छ।
आक्रमणमा एक जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। हमलाबाट कारखानाको मुख्य भवनका धेरैजसो भाग ध्वस्त भएको छ। प्रारम्भिक अनुमानअनुसार कम्पनीलाई कम्तीमा ४ अर्ब डलर क्षति भएको छ।
आक्रमणपछि कारखाना क्षेत्रबाट धुवाँको ठुलो मुस्लो देखिएको थियो। अधिकारीहरूले मृत्यु र घाइतेको संख्या बढ्न सक्ने बताएका छन्। हमला गरिएको कारखाना रुसको सीमाबाट लगभग २३ किलोमिटर टाढा पर्छ।
भारतीय सञ्चारमाध्यमका अनुसार कुसुम ग्रुपको यो कारखाना भारतीय नागरिक राजीव गुप्ताले सञ्चालन गर्छन्। सन् १९९० को दशकमा युक्रेन गएका उनले त्यहाँ कुसुम ग्रुप व्यवसाय स्थापना गरेका हुन्।
कम्पनीले १९९४ मा युक्रेनमा भारतीय औषधिको वितरकका रूपमा काम थालेको हो। १९९६ मा यो औपचारिक रूपमा युक्रेनमा समावेश भएको हो।
कुसुम समूहको मुख्यालय युक्रेनको राजधानी किभमा छ। यसलाई युक्रेनमा सञ्चालित अग्रणी भारतीय औषधि कम्पनीमध्ये एक मानिन्छ।





