युकसाममा फोहोर व्यवस्थापन प्रभावकारी बनाउन सामुदायिक अभियान तीव्र

13ed961b-2a14-4d71-96bd-750d53b43844

ग्याल्सिङ: फोहोरको प्रभावकारी व्यवस्थापन विसर्जनमा मात्र सीमित नभई यसको उत्पादन, उपभोग र विसर्जनको सम्पूर्ण प्रणालीमा सामूहिक जिम्मेवारी आवश्यक पर्ने ठहर गर्दै युकसामस्थित रिसोर्स रिकभरी सेन्टर (आरआरसी) ले सामुदायिक अभियानलाई तीव्र बनाएको छ। केन्द्रले युकसाम क्षेत्रमा दिगो र वैज्ञानिक फोहोर व्यवस्थापन प्रणालीको प्रवर्द्धनका लागि स्थानीय समुदाय र सरोकारवालाहरूलाई समेटेर विभिन्न सचेतनामूलक कार्यक्रमहरू सुरु गरेको हो।
​केन्द्रले स्थानीय बासिन्दा तथा व्यावसायिक क्षेत्रमा स्रोतैदेखि फोहोर वर्गीकरण (कुहिने र नकुहिने फोहोर छुट्ट्याउने) गर्ने बानीको विकास गर्न सूचना, शिक्षा र सञ्चार (आईईसी) गतिविधिहरूका साथै स्वयंसेवकहरू परिचालन गरी चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। यस पहलको मुख्य उद्देश्य वैज्ञानिक फोहोर व्यवस्थापन र दिगो जीवनशैलीलाई प्रवर्द्धन गर्दै समुदायभित्र सकारात्मक व्यवहारिक परिवर्तन ल्याउनु र वातावरणीय उत्तरदायित्वको भावना जागृत गराउनु रहेको छ। आरआरसीको टोलीले नियमित रूपमा सञ्चालन गर्ने पहुँच कार्यक्रम, सचेतना अभियान र सामुदायिक सहभागिताका माध्यमबाट फोहोर वर्गीकरण, स्रोतको पुनः प्राप्ति र पर्यावरण संरक्षणको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न प्रयासरत छ।
​युकसाम आरआरसीका इन्चार्ज छेटेन तासी भोटियाको नेतृत्वमा केन्द्रका कर्मचारी तथा समर्पित स्वयंसेवकहरूको टोलीले यस अभियानलाई अगाडि बढाइरहेको छ, जसको सामूहिक प्रयासले युकसामलाई स्वच्छ, हरियाली र दिगो बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ। रिसोर्स रिकभरी सेन्टरले भावी पुस्ताका लागि पर्यावरण सुरक्षित राख्न आ–आफ्नो घर र व्यवसायबाटै फोहोर छुट्ट्याउने कार्यमा सक्रियतापूर्वक सहभागी हुन र जिम्मेवारपूर्ण फोहोर व्यवस्थापनका उपायहरू अपनाउन सम्पूर्ण सर्वसाधारणमा हार्दिक अपिल समेत गरेको छ।

About Author

Advertisement