सिक्किममा पहिलो पटक ‘पोलारिस एड्भेन्चर एक्सपिडिसन’ सम्पन्न

0527cd17-97fc-4d34-8760-9aefa488a40e

साहसिक र ग्रामीण पर्यटनमा नयाँ आयाम

ग्याल्सिङ: सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभाग र स्माइल पान्डा टुर्स एन्ड ट्रेक्सको संयुक्त तत्त्वावधानमा राज्यकै इतिहासमा पहिलो पटक आयोजित ‘पोलारिस एड्भेन्चर एक्सपिडिसन’ सफलतापूर्वक सम्पन्न भएको छ। गत जुन ८ देखि १३ तारिखसम्म सञ्चालित यस अल टेरेन भेहिकल (एटीभी) साहसिक यात्राले सिक्किममा साहसिक पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरेको छ। यस ऐतिहासिक अभियानले सिक्किमका दुर्गम तथा मनमोहक पर्यटकीय स्थलहरू समेट्दै कुल ७५४ किलोमिटरको दूरी तय गरेको थियो। यात्राका क्रममा टोलीले पदमचेन, जुलुक, नथाङ भ्याली, कुपुप, छङ्गु लेक, काबी, लाचुङ, युमेसामदोङ, जिरो प्वाइन्ट, साङलाफु छो, लुम गाउँ, जोङ्गु र राजधानी गान्तोकको भ्रमण गरेको थियो।
​अभियानका क्रममा टोलीले जोङ्गुस्थित लुम गाउँको विशेष भ्रमण गरेको थियो, जहाँ स्थानीय श्री छिरिङ लेप्चा र लुम गाउँको टोलीले साहसिक यात्रीहरूलाई स्वागत गर्दै गाउँको समृद्ध सांस्कृतिक सम्पदा, प्राकृतिक वातावरण र जैविक विविधताको अनुभव गराएका थिए। यस भ्रमणले राज्यमा सामुदायिक पर्यटन र दिगो ग्रामीण पर्यटनको महत्त्वलाई अझ उजागर गरेको छ। ‘इन्टरप्रेनर्स अर्गनाइजेसन’ का प्रतिनिधिहरू सहभागी रहेको यस अभियानमा अफ–रोड यात्राको रोमाञ्चकतासँगै सिक्किमको न्यानो आतिथ्य, प्राङ्गारिक खेती प्रणाली, परम्परागत परिकार र जीवन्त सांस्कृतिक प्रस्तुतिहरूको अनुभव आदानप्रदान गरिएको थियो।
​यसअघि सिक्किमको प्रवेशद्वार मार्गपोमा पर्यटन तथा नागरिक उड्डयन विभागकी उपनिर्देशक सुष्मा प्रधानले सिक्किम प्रहरी र पर्यटन विभागका अधिकारीहरूको उपस्थितिमा झण्डा हल्लाएर अभियानको शुभारम्भ गरेकी थिइन्। अभियानको नेतृत्व पर्यटन विभागका तर्फबाट डेन्ताम टीआईसीका वरिष्ठ आईए पुजन गुरुङ र पर्यटन अधिकारी निखिल गुरुङले गरेका थिए। टोलीमा स्माइल पान्डा टुर्सका प्रतिनिधि चयन कुमार दत्त र सिक्किमका प्रख्यात कृषि–उद्यमी एवं ‘मिलेट म्यान अफ सिक्किम’ का रूपमा चिनिने कोदो प्रवर्द्धक छिरिङ लेप्चा र लुम गाउँका ग्राम पञ्चायत सदस्यहरूको सहभागिता रहेको थियो, जसले यात्रीहरूलाई दिगो कृषि, स्थानीय जीविकोपार्जन र समुदायमा आधारित विकास मोडलका बारेमा महत्त्वपूर्ण जानकारी गराएका थिए।
​एक्सपिडिसन टोलीले सिक्किममा साहसिक पर्यटन र दिगो विकासका लागि दूरदर्शी नेतृत्व र निरन्तर सहयोग पुर्‍याएको भन्दै माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ प्रति हार्दिक आभार प्रकट गरेको छ। यसैगरी पर्यटन मन्त्री छिरिङ टी. भोटिया र पर्यटन विभागका सल्लाहकार सुदेश कुमार सुब्बाले यो नौलो पहललाई साकार रूप दिन दिएको प्रोत्साहनप्रति पनि टोलीले धन्यवाद ज्ञापन गरेको छ। यो नौलो र साहसिक अभियानको सफल समापनले सिक्किमलाई विश्वभरिका उच्च–मूल्यका साहसिक पर्यटकहरूका लागि एक उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ। एटीभी जस्ता साहसिक माध्यमबाट हिमालयन क्षेत्रमा सिक्किमलाई उत्तरदायी र दिगो पर्यटनको उदाहरणीय मोडल बनाउन यो अर्को महत्त्वपूर्ण कदम सावित भएको छ।

About Author

Advertisement