गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले मानेबुङ देन्तामका जनतासॅंग लगातार दोस्रो दिन पनि भेट गरे। आज दोस्रो दिन मुख्यमन्त्रीले क्षेत्रका तीन वटा जीपीयूका जनतासँग भेट गरे। जनतासँग भेट्ने क्रम आगामी ९ जूनसम्म निरन्तर रहने योजना रहेको छ। आज दोस्रो दिन उनले हजारौँ जनतासँग प्रत्यक्ष भेट गर्दै उनीहरूको गुनासो सुन्नको साथै आफ्नो तर्फबाट हुने काम तत्काल पूरा गरे। कतिपय युवाहरुलाई जीविका उपार्जन गर्नको निम्ति आफ्नो पक्षबाट वाहनहरु पनि प्रदान गरे। रोगी अनि वृद्ध-वृद्धाहरुलाई भने जन कल्याण प्रकोष्ठको माध्यमद्वारा आर्थिक सहयोग प्रदान गरियो।
कतिपय जनताले आफ्नो जीवनकालमा आज पहिलोपल्ट मुख्यमन्त्रीसमक्ष प्रत्यक्षरूपमा भेट गर्ने अवसरमा पाएको खुशी प्रकट गरेका छन्। यसरी आफ्नै क्षेत्रमा सरकार आएर जन गुनासो सुन्ने कार्यक्रम गरेकोमा स्थानीय जनताले राज्यका मुख्यमन्त्रीप्रति आभार व्यक्त गरेका छन्। जन गुनासोहरू सुनेपछि मुख्यमन्त्री तामाङले विभागीय प्रमुखहरुलाई तत्काल समस्या समाधान गर्न निर्देश पनि दिए। आजदेखि मानेबुङ देन्ताम क्षेत्रमा शुरु भएको जनता भेट कार्यक्रम आगामी ९ जून सम्म निरन्तर चल्ने भएको छ। आजको जनता भेट कार्यक्रममा मन्त्रीगण, मुख्यमन्त्रीका राजनीतिक सचिव, मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव, विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो।
-हिस










