श्रीमति ब्रह्मा देवी सरस्वती बालिका विद्या मन्दिरको निम्ति सिक्किमका ९ विद्यार्थी चयनित

hapur_520

गान्तोकः विद्या भारती अखिल भारतीय शिक्षा संस्थानद्वारा उत्तर प्रदेशको हापुडमा सञ्चालित बालिका विद्यालय ‘श्रीमति ब्रह्मा देवी सरस्वती बालिका विद्या मन्दिर’ को निम्ति यो वर्ष सिक्किमबाट ९ जना विद्यार्थी चयनित भएका छन्। हरेक साल कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूलाई विद्यालयबाट चयन गरेर उक्त शैक्षिक संस्थानमा अध्ययनका लागि पठाउने गरिन्छ।

यस विद्यालयमा शिक्षाका साथै सेवा, संस्कार, देश प्रेम आदि जस्ता विषयहरू पनि विद्यार्थीहरूलाई शिक्षा प्रदान गरिन्छ। यस विद्यालयले विद्यार्थीहरूको समग्र विकासलाई ध्यानमा राखेर आफ्ना पाठ्यक्रमहरू तयार गरेको बताइएको छ। विद्या भारती सिक्किमले विगत ८-९ वर्षदेखि विद्यार्थीहरू चयन गरेर उक्त विद्यालयमा पठाउने गर्दै आएको छ।

यसपाली गान्तोक, गेजिङ, मंगन र पाकिमबाट कूल ९ जना विद्यार्थी चयनित भएका छन्। बुधवार तादोङस्थित विद्या भारती सिक्किमको प्रान्त कार्यालयमा चयनित विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूसॅंग परिचयात्मक एवं परामर्श बैठक आयोजन गरियो। यस अवसरमा विद्या भारतीका पूर्व छात्राद्वय दिक्षा शर्मा र श्रेया भारतीले आफ्ना अनुभवहरू साझा गरे।बैठकमा विद्या भारती सिक्किमका संयोजक मोहन शर्मा र कार्यालय सचिव सूय धितालले विद्यार्थीहरू र अभिभावकहरूलाई ‘श्रीमति ब्रह्मा देवी सरस्वती बालिका विद्या मन्दिर’ तथा अन्य आवश्यक विषयहरूको बारेमा जानकारी गराएका थिए।

-हिस

About Author

Advertisement