कोलकाताः अयोध्यामा आगामी २२ जनवरीका दिन प्रस्तावित राम मन्दिरको प्राण प्रतिष्ठाकै दिन कोलकातासहित राज्यभरि मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा सद्भावना ऱ्याली निकालिने विरुद्ध कलकत्ता हाई कोर्टमा याचिका लगाइएको छ। वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले याचिका लगाएर मुख्यमन्त्रीको उक्त ऱ्यालीको तारिकमा फेरबदल गर्न माग गरेका छन्।
शुभेन्दु अनुसार, २२ जनवरी सम्पूर्ण देशकै निम्ति एकदमै महत्वपूर्ण दिन हो। राज्यभरि पूजा अर्चना र विभिन्न कार्यक्रमहरू प्रस्तावित छन्। यस्तो स्थितिमा ममता ब्यानर्जीले नयॉं कार्यक्रमको घोषणा गरेर राज्यलाई जाम गर्ने प्रयास गरेकी छन्। मानिसहरू अयोध्या जान नकुन् र पूजा पाठ गर्न नसकुन् भनेर उनले यसो गरेकी हुन्।
न्यायमूर्ति हरीश टण्डनको खण्डपीठले यस मामिलामा याचिका दर्ता गर्न अनुमति दिएको छ। उनले देशमा जब पनि कुनै ठूलो धार्मिक अनुष्ठान हुने गर्दछ भने बंगालमा दंगा हुने गरेको पनि तर्क प्रस्तुत गरेका छन्। यस मामिलामाथि बिहिवार सुनवाई हुन सक्छ।
-हिस










