मिरिकमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको परिवर्तन यात्रासितै चुनावी जनसभा सम्पन्न

IMG-20260418-WA0055

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आज मिरिकमा परिवर्तन यात्राको साथमा चुनावी जनसभाको आयोजना गरेको छ। खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको पक्षमा चुनाव प्रचार गर्न मिरिकमा परिवर्तन यात्राको साथमा चुनावी जनसभाको आयोजना गरेको थियो। आजदेखि परिवर्तन यात्राको नाम लिएर मिरिकबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले रैली शुरु गरेको छ। मिरिकमा सर्वप्रथम भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले चुनाव घोषणा पत्र जारी गरेको छ। उक्त चुनाव घोषणा पत्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीए प्रमुख अनित थापा र पार्टीको केन्द्रीय महासचिव एवं खरसाङ विधानसभा समष्टिको उम्मेद्वार अमर लामाले संयुक्त रुपमा जारी गरेका छन्। त्यसपछि मिरिकको थर्बु बाईपासदेखि परिवर्तन यात्राको नाम गरेर रैलीको आयोजना गरिएको थियो। उक्त रैली मिरिक बजार परिक्रमा गर्दै मिरिक बजारमा चुनावी जन सभामा परिणत भएको थियो। उक्त चुनावी जनसभाको अध्यक्षता सभासद ध्रुव बम्जनले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीए प्रमुख एवं भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापा उपस्थित रहेका थिए। उक्त चुनावी जनसभामा सभासद मिलेस राईले स्वागत सम्भाषण राखेका थिए। यस जनसभालाई मिरिक नगरपालिकाको चेयरम्यान एंव हिल तृणमूल कांग्रेसको चेयरम्यान एलबी राई, नारी शक्ति दार्जिलिङकी महासचिव सुष्मा राई र खरसाङ विधानसभा समष्टिको उम्मेद्वार अमर लामाले सम्बोधन गरेका थिए। चुनावी जनसभाको अन्त्यमा जीटीए प्रमुख एवं भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले सम्बोधन गरेका थिए।

उक्त चुनावी जनसभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले तीनवटै विधानसभा सिट जित्ने दावी गरेका छन्। उनले यसपाली पहाडमा चुनावी माहोल एकदमै राम्रो रहेको र चुनावलाई जनताले उत्सवको रूपमा लिएको र सबैजना भोट हाल्न उत्साहित रहेको पनि बताएका छन्‌।

About Author

Advertisement