कोलकाता: पश्चिम बंगाल विधानसभा चुनाव २०२६ को पहिलो चरण अन्तर्गत २३ अप्रिलमा १६ जिल्लाका १५२ सिटमा मतदान हुँदैछ। यस चरणमा करिब ३.६ करोड मतदाताले उम्मेदवारहरूको भाग्य निर्धारण गर्नेछन्। निर्वाचन आयोगले सबै मतदान केन्द्रमा केन्द्रीय सुरक्षा बल परिचालन गरिसकेको छ र कडा सुरक्षा व्यवस्था मिलाइएको छ। यो चरण राजनीतिक रूपमा निकै महत्वपूर्ण मानिएको छ।
उत्तर बंगालका काेचबिहार, अलीपुरदुआर, जलपाईगुड़ी, दार्जिलिंग र दिनाजपुर जिल्लाहरूमा भारतीय जनता पार्टी बलियो अवस्थामा रहेको मानिन्छ। जंगलमहल क्षेत्र- पुरुलिया, बांकुड़ा, झाड़ग्राम र पश्चिम मेदिनीपुर-मा तृणमूल कांग्रेस र बीजेपीबीच कडा प्रतिस्पर्धा छ।
सीमावर्ती क्षेत्रहरू मालदह र मुर्शिदाबाद मा तृणमूल कांग्रेसको पकड बलियो देखिन्छ। साथै पूर्व बर्दवान र नदिया का केही भागमा पनि मतदान हुनेछ।
करिब ३०–३५ सिटमा कडा प्रतिस्पर्धा रहेको छ जहाँ सानो मत परिवर्तनले परिणाम बदल्न सक्छ। अनुमानित तथ्यांक अनुसार तृणमूल कांग्रेसले ७०–७८ सिट, बीजेपीले ६८–७४ सिट र अन्यले २–६ सिट जित्ने सम्भावना छ। यसपटक चुनाव लहरभन्दा बढी रणनीति र सूक्ष्म व्यवस्थापनमा आधारित देखिएको छ।











