कोलकाता: पश्चिम बंगाल विधानसभा चुनाव २०२६ लाई लक्षित गर्दै निर्वाचन आयोगले अन्तिम तयारी तीव्र बनाएको छ। राज्यभर ईभीएम सुरक्षित राख्न र मतगणना व्यवस्थित बनाउन ८७ वटा स्ट्रङ रुम तथा काउन्टिङ केन्द्र तोकिएका छन्। आयोगले सुरक्षा र पारदर्शितामा कुनै सम्झौता नगर्ने संकेत दिएको छ।
राज्यका २९४ विधानसभा सिटका लागि ४४ जिल्ला मुख्यालय र ४३ उप-डिभिजन मुख्यालयमा केन्द्रहरू निर्धारण गरिएका छन्। मतदानपछि सबै ईभीएम यिनै स्थानमा राखिनेछ र मतगणना पनि यहीँ गरिनेछ। प्रत्येक स्ट्रङ रुममा केन्द्रीय अर्धसैनिक बल तैनाथ गरिनेछ भने २४ घण्टा सिसिटिभी निगरानी रहनेछ।
कोलकातामा काउन्टिङ केन्द्रहरूलाई उत्तर र दक्षिण जोनमा विभाजन गरिएको छ। उत्तरतर्फ नेताजी इन्डोर स्टेडियममा मतगणना हुनेछ भने दक्षिणतर्फ बाबासाहेब अम्बेडकर शिक्षा विश्वविद्यालय, बालीगञ्ज गभर्नमेन्ट हाई स्कुल, गीताञ्जली स्टेडियम र सेन्ट थोमस ब्वाइज स्कुल लगायतका स्थान तोकिएका छन्। अलीपुरको हेस्टिङ्स हाउस कम्प्लेक्समा पनि केही केन्द्र राखिएका छन्।
दक्षिण २४ परगनामा सबैभन्दा धेरै केन्द्र तोकिएका छन्। जादवपुरको एपीसी रोय पोलिटेक्निक, डायमण्ड हार्बर विमेन्स युनिभर्सिटी र काकद्वीपस्थित सुन्दरबन महाविद्यालय प्रमुख केन्द्र हुन्। मुर्शिदाबाद मा पनि पाँच स्थानमा मतगणना हुनेछ।
उत्तर बंगालका जलपाईगुड़ी, अलीपुरदुआर, काेचबिहार, दार्जिलिंग र कलिम्पोङमा समेत छुट्टाछुट्टै केन्द्र बनाइएका छन्।
सुरक्षाका लागि दुई तहको ताल्चा प्रणाली लागू गरिएको छ- एउटा चाबी जिल्ला मजिस्ट्रेटसँग र अर्को उम्मेदवार वा उनका प्रतिनिधिसँग रहनेछ। साथै राजनीतिक दलका प्रतिनिधिलाई स्ट्रङ रुम बाहिर निगरानी गर्न अनुमति दिइनेछ।
ईभीएम सुरक्षालाई लिएर भारतीय जनता पार्टी र तृणमूल कांग्रेस बीच बहस तीव्र बनेको छ। आयोगले आगामी चरणका लागि थप निर्देशिका छिट्टै जारी गर्ने जनाएको छ।










