टीएमसी सरकारले उत्तर बंगाल, विशेष गरी गोर्खाहरूप्रति सधैंभरि भेदभाव गरेको छ तर प्रधानमन्त्री र गृहमन्त्रीको अगुवाईमा गोर्खाहरुका लागि संविधानअन्तर्गत स्थायी राजनीतिक समाधान सुनिश्चित गरिनेछ: हिमन्त विश्व सरमा
कालेबुङ: आज असमका मुख्यमन्त्री तथा उत्तर-पूर्वी क्षेत्रका भारतीय जनता पार्टीको वरिष्ठ नेता हिमन्त विश्व सरमाले कालेबुङका भाजपा गठबन्धनको उम्मेदवार भारत क्षेत्रीको समर्थनमा कालेबुङ जिल्ला अन्तर्गत गोरुबथानमा चुनावी सभालाई सम्बोधन गरेका छन्। चिया बगानका श्रमिकहरूसँग कुरा गर्दै उनले असममा भाजपा सरकारले चिया श्रमिकहरूलाई बंगालमाभन्दा अधिक वेतनको साथै अतिरिक्त सुविधाहरू उपलब्ध गराएको कुरा उल्लेख गरेका छन्। उनले जोड़ दिंदै भने, भाजपाले ३ लाख चिया बगान श्रमिकहरूलाई पर्जा पट्टा प्रदान गरेको छ र प्रत्येक परिवारले प्रधानमन्त्री आवास योजनामार्फत घर निर्माण गर्न पाउनेछन्। उनले अघि भने, असममा भाजपा सरकार फेरि गठन भएपछि चिया श्रमिकहरूको दैनिक तलब ४५० रुपियाँ पुर्याइनेछ। यसलाई पश्चिम बंगालसँग तुलना गर्दै उनले भने, टीएमसी सरकारले चिया बगानको जग्गा टीएमसीलाई फन्ड गर्नेहरूलाई पाँचतारे होटल निर्माण गर्न दिन्छ भने चिया श्रमिकहरूलाई वञ्चित राख्छ। उनले भने, चिया बगानमा चिया श्रमिकहरूलाई जग्गाको पहिलो अधिकार छ।

हिमन्त विश्व सरमाले सीमा क्षेत्रहरूमा अवैध अप्रवासन र जनसांख्यिक परिवर्तन, डेमोग्राफिक चेन्जको विषयलाई उजागर गरे जुन तृणमूल कांग्रेस सरकार र मुख्यमन्त्री ममता ब्यानर्जीको कारणले भएको हो। उनले खुलासा गरे, पश्चिम बंगाल सरकारले आफ्नो भोट बैंकको लागि अवैध घुसपैठीहरुलाई समर्थन गर्छ र भारत-बंगलादेश सीमा फेन्सिङका लागि आवश्यक जग्गा दिन अस्वीकार गर्छ। उनले अझ भने, ‘भाजपाले सीमा फेन्सिङ गर्नेछ र सबै अवैध घुसपैठीहरुलाई सय प्रतिशत निर्वासन सुनिश्चित गर्नेछ।’
उनले टीएमसी सरकारले उत्तर बंगाल, विशेष गरी गोर्खाहरूप्रति सधैंभरि भेदभाव गरेको कुरा उल्लेख गरे। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भाजपाले हाम्रो क्षेत्रको लागि भारतीय संविधानअन्तर्गत स्थायी राजनीतिक समाधान सुनिश्चित गर्नेछन्। उनले प्रतिबद्धता व्यक्त गरे, हामी चिया श्रमिक, सिन्कोना श्रमिक र वनवस्ती निवासीहरूका लागि पर्जा पट्टा अधिकार प्रदान गर्नेछौं। हामी उत्तर बंगालमा एम्स,आईआईटी,आईआईएमस्थापना गर्नेछौं र उत्तर बंगालमा समर्पित क्यान्सर अस्पताल पनि स्थापना गर्नेछौं। हामी दार्जीलिङलाई प्रमुख पर्यटन हब बनाउनेछौं।’
उनले अझ भने, भाजपाले पश्चिम बंगालमा सरकार गठन गरेको १५ दिनभित्रै महिलाहरूलाई मासिक तीन हजार रुपैयाँ प्रदान गर्नेछ।’
उनले टीएमसीले घोटाला संस्कृति प्रवर्धन गरेको कुरो उजागर गर्दै उनीहरूले घोटाला शिक्षकहरू भर्ती गर्छन्, जसले विद्यार्थीहरूलाई घोटालाबाहेक अरू केही सिकाउन सक्दैनन्। उनले जोड दिन्दै भने, असम भाजपा सरकारले योग्यता प्रणालीमार्फत २ लाखभन्दा बढी रोजगारीहरू भरेको छ। भाजपाले आगामी पाँच वर्षमा १ करोड़ रोजगारी सिर्जना गर्नेछ र बेरोजगार युवाहरूलाई मासिक ३००० रुपियाँ सहयोग प्रदान गर्नेछ।’

उनले कालेबुङका जनतालाई भारत क्षेत्रीलाई भोट दिन अनुरोध गर्दै भने, ‘भारत क्षेत्रीजस्ता राम्रा व्यक्तिहरूले हाम्रो देश र गोर्खा समुदायको गौरव हुन् र उहाँजस्तो राम्रो व्यक्तिले जित्त्दा गोर्खा समाज र देशलाई पनि सम्मानित हुन्छ।’











