मिरिक: अलग राज्य गोर्खाल्याण्ड निर्माणको मागलाई लिएर सडक संघर्षमा रहेको नयाँ पार्टी निर्माण समितिले शनिवार मिरिकमा कांग्रेस पार्टीकी अब्जर्भर एवं पूर्व राष्ट्रिय महिला आयोगकी सदस्य समिना शाफिक तथा कांग्रेसका राज्य उपाध्यक्ष डा. मुनिष तामाङ समक्ष ज्ञापन पत्र बुझाएको छ। नयाँ पार्टी निर्माण समितिका पूर्णसिंह राईको नेतृत्वमा रामचन्द्र राई, हेमचन्द्र घले र मन्दीप तामाङ सम्मिलित टोलीले ज्ञापन पत्र बुझाउँदै अलग राज्य गोर्खाल्याण्ड निर्माणको विषयलाई संसदमा बहसको विषय बनाउन आग्रह गरेको छ।बसमितिले संसदमा अलग राज्य गोर्खाल्याण्ड निर्माणसम्बन्धी विधेयक प्रस्तुत भएको अवस्थामा त्यसलाई समर्थन गरिदिन समेत कांग्रेस नेतृत्वसमक्ष आग्रह गरेको जनाएको छ।
यसै क्रममा टोलीले भारतीय राष्ट्रिय कांग्रेसका विपक्षी दलका नेता राहुल गान्धीसँग नयाँ पार्टी निर्माण समितिको भेटवार्ता गराइदिन पनि समिना शाफिक तथा डा. मुनिष तामाङसमक्ष आग्रह गरेको छ। नयाँ पार्टी निर्माण समितिले गोर्खाल्याण्डको दीर्घकालीन राजनीतिक समाधान अलग राज्य गोर्खाल्याण्डका लागि राष्ट्रिय राजनीतिक दलहरूसँग संवाद र सहकार्यलाई अघि बढाउने पहल शुरु गरिसकेको छ।











