‘डलरको जवाफ डलरमै दिइने’ प्रधानमन्त्री कार्नीको चेतावनी
ओटावा: क्यानाडाले अमेरिकासँग भइरहेको द्विपक्षीय व्यापार वार्ता तत्कालका लागि स्थगित गरेको छ। अमेरिकी पक्षले अन्तिम समयमा अघि सारेका सर्तहरू अनुचित र क्यानाडाको अर्थतन्त्रका लागि नोक्सानदायक रहेको भन्दै प्रधानमन्त्री मार्क कार्नीले वार्ता रोक्ने निर्णय गरेका हुन्।
अमेरिकाले मध्यरातिदेखि करिब २८ अर्ब क्यानेडियन डलर बराबरका क्यानेडियन वस्तुहरूमा ५० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने तयारी गरेपछि क्यानाडाले यो कडा कदम चालेको हो। प्रधानमन्त्री कार्नीले अमेरिकी कदमको सशक्त प्रतिकार गर्दै ‘डलरको जवाफ डलरमै’ दिइने घोषणा गरेका छन्। जसअनुसार क्यानाडाले पनि अमेरिकी वस्तुहरूमा सोही बराबरको जवाफी भन्सार शुल्क लगाउनेछ।
प्रधानमन्त्री कार्नीका अनुसार विगत १८ महिनादेखि क्यानाडाले अमेरिकामा आफ्ना व्यवसायीहरूका लागि करमुक्त पहुँच र प्रमुख उद्योगहरूमा कर छुटको अडान राख्दै आएको थियो। वार्तामा केही प्रगति भए पनि क्यानाडाली जनता र व्यवसायीको हित रक्षा हुन नसकेकाले वार्ता टोलीलाई ओटावा फिर्ता बोलाइएको हो। क्यानाडाले अब व्यापारका लागि अमेरिकामाथिको निर्भरता घटाउँदै अन्य विश्वव्यापी बजारहरूमा पहुँच विस्तार गर्ने रणनीति लिएको छ।
उता, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरले भने क्यानाडाको यो कदमको आलोचना गरेका छन्। उनले क्यानाडा पहिले तय भइसकेका सर्तहरूबाट पछि हटेको आरोप लगाएका छन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको सम्बन्ध राम्रो रहेको र चाँडै नै व्यापार सम्झौता हुने आशा व्यक्त गरेका थिए।











