पंकज कुमार सिंहको अध्यक्षतामा समिति गठन
सिलगढी: दार्जिलिङ पहाड, तराई र डुवर्स क्षेत्रका जनताको लामो समयदेखिको चाहना र मागलाई सम्बोधन गर्दै स्थायी राजनीतिक समाधान (पीपीएस) खोज्नका लागि केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा सिलिगुडीमा एक उच्चस्तरीय बैठक सम्पन्न भएको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री सुवेन्दु अधिकारीको विशिष्ट उपस्थितिमा बसेको उक्त बैठकमा यस क्षेत्रको दीर्घकालीन र सम्मानजनक समाधानका लागि व्यावहारिक तथा ठोस कदमहरू चाल्नेबारे गहन छलफल भयो।
बैठकमा केन्द्रीय गृह मन्त्री अमित शाहले भारत सरकार यस क्षेत्रका मुद्दाहरू हल गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा जनताको न्यायोचित आकांक्षा पूरा गर्न र अर्थपूर्ण राजनीतिक समाधान खोज्न हरेक सम्भव प्रयास गरिने आश्वासन दिए। छलफलका क्रममा स्थायी राजनीतिक समाधान भारतीय संविधानको परिधिभित्रै रहेर खोजिने र यसले क्षेत्रको धनी पहिचान, संस्कृति र आकांक्षाको संरक्षण गर्ने सर्वसम्मत बुझाइ बनेको छ।
यस प्रक्रियालाई अघि बढाउनका लागि सरकारले पंकज कुमार सिंहको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको छ, जसले प्रस्तावित समाधानको विस्तृत खाका तयार पार्नेछ। यो निर्णयलाई दशकौँदेखिको अन्योल अन्त्य गर्दै स्थायी शान्ति, राजनीतिक स्थिरता र सामाजिक सद्भाव कायम गर्ने दिशातर्फको महत्त्वपूर्ण पाइला मानिएको छ।
उक्त महत्त्वपूर्ण बैठकमा दार्जिलिङका सांसद राजू बिष्ट, केन्द्रीय गृह सचिव गोविन्द मोहन, खुफिया ब्युरो (आईबी) का निर्देशक महेश दीक्षित, मध्यस्थकर्ता पंकजकुमार सिंह, पश्चिम बङ्गालका मुख्य सचिव मनोजकुमार अग्रवाल, पश्चिम बङ्गालका पुलिस महानिर्देशक (डीजीपी) सिद्धनाथ गुप्त, स्थानीय सांसदहरू, विधायकहरू तथा गोर्खा राजनीतिक नेताहरूको उपस्थिति रहेको थियो। सम्पूर्ण सरोकारवालाहरूको यो सहभागिताले न्यायोचित समाधानका लागि सबैको साझा सङ्कल्पलाई स्पष्ट पारेको छ।











