खरसाङ: दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताको दीर्घकालीन राजनीतिक आकांक्षालाई सम्बोधन गर्न शनिवार सिलगढीमा भएको उच्चस्तरीय बैठक ऐतिहासिक र स्वागतयोग्य कदम हो भनी भारतीय जनता पार्टीको तर्फबाट रामकृष्ण शर्माले बताएका छन्। उनले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय गृहमन्त्री अमित शाहको प्रतिबद्धता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा स्थायी राजनीतिक समाधानको दिशामा प्रक्रिया अगाडि बढ्नुले जनतामा नयाँ आशा र विश्वास जगाएको बताएका छन्। उनले यस बैठक विषयमा प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘संविधानको दायराभित्र बलियो र दीर्घकालीन समाधानको आधार तयार गर्न ड्राफ्टिङ कमिटी गठन हुनु यस यात्राको महत्वपूर्ण सुरुवात हो।
स्थायी राजनीतिक समाधानका लागि ड्राफ्टिङ कमिटी गठन गर्ने निर्णय हुनु हाम्रो क्षेत्रका जनताका लागि अत्यन्तै महत्वपूर्ण र आशाजनक कदम हो।वर्षौंदेखि रहेको राजनीतिक अनिश्चितताको अन्त्य गर्दै न्यायपूर्ण, सम्मानजनक र दीर्घकालीन समाधानतर्फ अघि बढ्ने वातावरण निर्माण भएको छ। गृहमन्त्री अमित शाहलाई उनको व्यक्तिगत पहल र प्रतिबद्धताका लागि हार्दिक धन्यवाद। यो प्रक्रिया शान्ति, स्थिरता र समृद्धिको नयाँ अध्यायको आधार बनोस्।’
रामकृष्ण शर्माले अघि भने, ‘भारतको संविधानको दायराभित्र स्थायी राजनीतिक समाधान खोज्ने स्पष्ट प्रतिबद्धता स्वागतयोग्य छ।यस बैठकमा भएको सहमति र पंकजकुमार सिंहको अध्यक्षतामा ड्राफ्टिङ कमिटी गठन हुनु छलफललाई अब ठोस कार्यदिशातर्फ लैजाने महत्वपूर्ण कदम हो। हाम्रो पहिचान, संस्कृति र जनताको वैधानिक आकांक्षालाई सम्मान गर्दै न्यायपूर्ण र दीर्घकालीन समाधानप्राप्त हुने विश्वास अझ बलियो भएको छ। स्थायी राजनीतिक समाधान केवल राजनीतिक विषयको समाधान मात्र होइन, यो हाम्रो क्षेत्रको शान्ति, स्थिरता, सामाजिक सद्भाव र समृद्ध भविष्यको आधार बन्न सक्छ।’
शर्माले अझ भने, ‘दशकौँदेखिको अनिश्चितताको अन्त्य भएर नयाँ पुस्ताले सम्मान, अवसर र समृद्धिसहितको भविष्य निर्माण गर्ने वातावरण बन्नुपर्छ। यस पहलले दार्जिलिङ पहाड, तराई र डुवर्सलाई विकास र प्रगतितर्फ अझ बलियो रूपमा अघि बढाउने नयाँ सम्भावनाको ढोका खोलेको छ। दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताको दीर्घकालीन आकांक्षालाई गम्भीरतापूर्वक सम्बोधन गरेकोमा केन्द्रीय गृहमन्त्री अमित शाहप्रति हार्दिक आभार व्यक्त गर्दछु।’
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णायक नेतृत्वमा स्थायी राजनीतिक समाधानको प्रक्रिया अगाडि बढ्नु ऐतिहासिक उपलब्धितर्फको महत्वपूर्ण कदम हो भनी बताएका छन्। शर्माले अझ भने, ‘यस पहलले न्यायपूर्ण, सम्मानजनक र दीर्घकालीन समाधानको आशा अझ बलियो बनाएको छ। अब हाम्रो क्षेत्रले शान्ति, स्थिरता, विकास र समृद्धिको नयाँ अध्यायतर्फ अघि बढ्ने विश्वास लिएका छौँ।’











