सिलगढी: ‘नशामुक्त सिलगढी’ अभियान अन्तर्गत माटीगढा पुलिसले विश्वास कोलोनीमा एउटा विशेष सचेतना कार्यक्रम को आयोजना गरेको छ। स्थानीय बासिन्दाहरूका अनुसार यो क्षेत्र लामो समयदेखि ड्रग्सको धन्दाले गर्दा बदनाम र प्रभावित बन्दै आइरहेको थियो।
स्थानीय मानिसहरूका भनाइ अनुसार, यस भेगका धेरै वटा ठाउँहरूमा खुल्ला रूपमा ड्रग्स र नशालु पदार्थहरू किनबेच हुने गर्छ। यसै कुरालाई ध्यानमा राख्दै पुलिसले यो अवैध धन्दालाई जडैदेखि उखेलेर फ्याँक्न अनि समाजका मानिसहरूलाई पनि यस विरुद्धको लड़ाईँमा सामेल गराउन यो अभियान सुरु गरेको हो।
यस कार्यक्रमको क्रममा पुलिसले एउटा विशेष हेल्पलाइन नम्बर— ८५९७९८८००२ पनि जारी गरेको छ। यस नम्बरमा फोन गरेर स्थानीय बासिन्दाहरूले आफ्नो क्षेत्रमा भइरहेको ड्रग्सको बिक्री वा प्रयोग सम्बन्धी कुनै पनि जानकारी पुलिसलाई दिन सक्नेछन्।
पुलिसले भरोसा दिलाएको छ कि जानकारी दिने मानिसको नाम र पहिचान एकदमै गुप्त राखिनेछ। त्यसैले बिना कुनै डर र हिचकिचाहट पुलिसलाई खबर गर्न उहाँहरूले आग्रह गर्नुभएको छ। स्थानीय मानिसहरूले पुलिसको यो कदमलाई एकदमै स्वागत गरेका छन् र विश्वास कोलोनीमा ड्रग्स रोक्नका लागि यस्तो अभियानको निकै खाँचो रहेको बताएका छन्।
भाजपा बुथ अध्यक्ष विजय रावत ज्यूले भन्नुभयो कि यो ड्रग्सको धन्दाले गर्दा हाम्रो यो भेगको नाम खराब भइरहेको छ र साना-साना नानीहरू अनि युवा पीँढीमा यसको निकै नराम्रो असर परिरहेको छ। यस्तो गैरकानुनी कामलाई तुरून्तै रोक्न कड़ा कदम चालिनु पर्छ भनी उहाँले जोड दिनुभयो।
पुलिस अधिकारीहरूका अनुसार अहिले त यो सचेतना अभियान मात्र चलाइँदैछ, तर बारम्बार सम्झाउँदा पनि यदि कसैले ड्रग्सको धन्दा बन्द गरेन भने आउने दिनहरूमा उनीहरू विरुद्ध कड़ा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।










