‘एपाङ ओपाङ झपाङ’ माथि उठ्यो प्रश्न
कोलकाता: पश्चिम बंगालका सरकारी अनुदान प्राप्त पुस्तकालयहरू (लाइब्रेरी) मा राखिने पुस्तकहरूलाई लिएर एउटा नयाँ राजनीतिक विवाद खडा भएको छ। राज्यका पुस्तकालय मन्त्री गौरीशंकर घोषले एउटा ठूलो निर्देश जारी गर्दै अब सरकारी पुस्तकालयहरूमा केवल त्यस्ता पुस्तकहरूलाई प्राथमिकता दिइने बताएका छन्, जसले पाठकहरूको ज्ञान बढाउनुका साथै राष्ट्रिय चेतनाको विकास गरोस्।
मन्त्रीको यस कडा कदमपछि राजनीतिक वृत्त र सामाजिक सञ्जालमा पूर्व मुख्यमन्त्री ममता बनर्जीद्वारा लिखित केही साहित्यिक रचनाहरूलाई पुस्तकालयबाट हटाइन सक्ने चर्चा निकै चुलिएको छ। यस सूचीमा उनको सबैभन्दा चर्चित र विवादित कविता ‘एपाङ ओपाङ झपाङ’ को नाम अग्रपंक्तिमा रहेको छ।
बालबालिकाको बौद्धिक विकासमा जोड: मन्त्री
पुस्तकालय मन्त्री गौरीशंकर घोषले आफ्नो निर्णयको बचाउ गर्दै मानिसहरू ज्ञान आर्जन गर्ने उद्देश्य लिएर पुस्तकालय जाने बताए। त्यसैले त्यहाँ विशेष गरी बालबालिकाको मानसिक र बौद्धिक विकासमा सहयोगी सिद्ध हुने पुस्तकहरू हुनुपर्ने उनको भनाइ छ। उनले स्पष्ट शब्दमा भने, “जुन पुस्तकहरूले बालबालिकाको व्यक्तित्व विकासमा मद्दत गर्दैनन्, तिनलाई सरकारी खर्चमा चल्ने पुस्तकालयहरूमा राखिरहनुको कुनै औचित्य छैन।”
मन्त्रीले अब पुस्तकालयहरूमा ‘गीताञ्जली’ का रचनाकार रवीन्द्रनाथ टैगोर, काजी नजरुल इस्लाम र स्वामी विवेकानन्द जस्ता महापुरुषहरूका अमर रचनाहरूसँगै महान ऐतिहासिक व्यक्तित्वहरूको जीवनीलाई बढीभन्दा बढी स्थान दिइने प्रष्ट पारेका छन्।
गर्माउन सक्छ बंगालको राजनीति
ममता बनर्जीका साहित्यिक कृतिहरूलाई पुस्तकालयबाट हटाउने यस चलखेलपछि राज्यमा राजनीतिक सरगर्मी बढ्ने निश्चित मानिएको छ। आगामी दिनहरूमा यस मुद्दालाई लिएर विपक्षी र सत्तापक्षबीच तीव्र आरोप-प्रत्यारोप र ठूलो राजनीतिक घमासान देख्न सकिने सम्भावना छ।










