महिलाको दुरुपयोग गरेको एसडीएफको आरोप​

Screenshot_20260420_223715_Facebook

गान्तोक: ​सिक्किमको विपक्षी दल सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) ले सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) माथि राजनीतिक स्वार्थका लागि महिलाहरूको दुरुपयोग गरेको आरोप लगाएको छ। एसडीएफको महिला शाखा ‘चेली मोर्चा’ ले आइतबार गान्तोकस्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै एसकेएमलाई महिला अधिकार र आरक्षणका विषयमा बोल्ने कुनै नैतिक अधिकार नभएको दाबी गरेको हो।
​एसडीएफ चेली मोर्चाकी प्रभारी कोमल चामलिङले ‘नारी शक्ति वन्दन अधिनियम’ का नाममा एसकेएमले भ्रम फैलाइरहेको बताइन्। सन् २०२३ मा नै संसदबाट सर्वसम्मतिले पारित भइसकेको महिला आरक्षण विधेयकलाई लिएर विपक्षीले अवरोध पुऱ्याएको भनी झुटो प्रचार भइरहेको उनको भनाइ छ। “महिला आरक्षण विधेयक पारित भएर कानुन बनिसकेको छ, केवल कार्यान्वयन हुन बाँकी छ,” चामलिङले भनिन्, “तर एसकेएमले यसलाई चुनावी एजेण्डा बनाएर महिलाहरूलाई दिग्भ्रमित पारिरहेको छ।”
​हालै सिक्किममा आयोजित महिला ऱ्यालीप्रति लक्षित गर्दै उनले २०११ को जनगणनाको आधारमा आरक्षण लागू गर्दा ओबीसी (अन्य पिछडा वर्ग) को प्रतिनिधित्व गुम्ने खतरा रहेको औंल्याइन् । उक्त ऱ्यालीमा सहभागी धेरै ओबीसी नेतृहरूले वास्तविकता नबुझी भाग लिएको उनले दाबी गरिन्। “यदि सोही जनगणनाका आधारमा सिट बढाइएको भए सिक्किमको लोकसभा सिट बढ्ने सम्भावना थिएन,” उनले थपिन्, “सिक्किमका सांसदले यसबारे बोल्नुपर्नेमा एसकेएमले केवल प्रोपोगाण्डा मात्र गरिरहेको छ।”
​प्रभारी चामलिङले एसकेएम सरकारलाई ‘पुरुष प्रधान’ को संज्ञा दिँदै आजसम्म एक जना पनि महिलालाई मन्त्री बनाउन नसकेकोमा आलोचना गरिन्। उनले भनिन्, “कृष्ण राईले चुनाव जितेपछि उनलाई राजीनामा दिन लगाएर पुरुषलाई नै उम्मेदवार बनाइयो, यसले एसकेएमको महिलाप्रतिको दृष्टिकोण स्पष्ट पार्छ।”
​एसडीएफले महिला आरक्षणको पूर्ण समर्थन गर्ने बताउँदै सन् २०२९ को निर्वाचन महिला आरक्षणकै आधारमा हुनुपर्ने अडान दोहोऱ्याएको छ। एसकेएमको पछिल्लो गतिविधिले सिक्किमे महिलाहरू राष्ट्रिय स्तरमै हाँसोको पात्र बनेको चामलिङको आरोप छ।

About Author

Advertisement