नेत्र बिक्रम बिमली
भद्रपुर (झापा): उपाधिको मुख्य दाबेदार मानिएको विभागिय टोली नेपाल पुलिस फुटबल क्लबले झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपमा शानदार सुरुवात गरेको छ। आइतबार भएको उद्घाटन खेलमा आयोजक चन्द्रगढी युवा क्लबलाई ६–० को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै पुलिस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
पुलिसको एकतर्फी जितमा स्ट्राइकर रेखा पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै जारी प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गरिन्। उनले खेलको पहिलो मिनेटमै गोलको खाता खोलेकी थिइन् भने ३८औँ र ७७औँ मिनेटमा थप गोल गर्दै आफ्नो ह्याट्रिक सुरक्षित गरिन्। पुलिसका लागि मिना देउवाले खेलको दोस्रो र २९औँ मिनेटमा दुई गोल गरिन् भने ७२औँ मिनेटमा मैदान प्रवेश गरेकी सब्सिच्युट खेलाडी अनुष्का शेर्पाले एक गोल थपिन्।
खेलभरि निरीह देखिएको आयोजक चन्द्रगढीले केही सीमित अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। पहिलो हाफको इन्जुरी समयमा रेखा बिष्टले पाएको सुन्दर अवसर खेर जाँदा आयोजक टोली सान्त्वना गोल गर्नबाट समेत चुक्यो। अब पुलिसले सेमिफाइनल प्रवेशका लागि भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
ह्याट्रिककर्ता रेखा पौडेल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। प्रतियोगिता अन्तर्गत सोमबारको खेल सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ।

नेपालकै सर्वाधिक पुरस्कार राशि मानिएको यस प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट खेलाडीहरूका लागि समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।










