वाराणसी: आफ्नो जीवनको बहुमूल्य ज्ञानार्जनकाल बिताएको काशीनगरी अर्थात् वाराणसीपुरीमा महाकवि सुब्रमण्य भारतीको १०२औँ पुण्यतिथि मनाए। ४ वर्ष वाराणसीको हनुमान घाटस्थित फुपूको घरमा रही भारतीले विद्यार्जन गरेका थिए। त्यस घरमा तमिलनाडु सरकारले भारती सङ्ग्रहालय निर्माण गरेको छ भने त्यसको वर वाराणसी नगर निगमको रेखदेखमा भारतीको मूर्ति पनि राखिएको छ। ती दुवै ठाउँमा बिहान पुण्यतिथि कार्यक्रम राखिएका थिए। त्यहाँ काशी हिन्दू विस्वविद्यालयका शिक्षक, शोधार्थी र विद्यार्थीका साथै भारतीका नातिनी संगीत शिक्षिका जयन्ती मुरली अनि भारती सङ्ग्रहालयमा आएका तमिलजनको उपस्थिति थियो।

दिउँसो काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागमा पनि विभागाध्यक्ष प्रो दिवाकर प्रधानको अध्यक्षतामा भारतीविषयक परिचर्चा कार्यक्रम राखिएको थियो। उक्त परिचर्चामा मराठीका प्रो. प्रमोदभगवान् पडवल, इतिहासका प्रो. गङ्गाधरण, तमिलका डा. जगदीशन टी, जापानीकी डा. चाँदनी कुमार, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका डा. अमित थापासहित धेरै शोधार्थी र विद्यार्थीहरूले भाग लिएका थिए। डा. जगदीशनले महाकविको जीवनीमाथि प्रकाश पार्दै भारती रचनाका अनुवादबारे चर्चा गरे। प्रो. पडवलले मराठी स्वतन्त्रता सेनानी दामोदर सावरकर र सुब्रह्मण्य भारतीको समानताबारे विवेचना गरे। प्रो. गङ्गाधरणले भारतीय स्वतन्त्रता आन्दोलनमा सुब्रह्मण्य भारतीको अवदानमाथि प्रकाश पारे। शोधार्थी मौसम शर्माले प्रकाशोन्मुख भारतीकृत ज्ञानरथ नेपाली अनुवादकको अनुभव साझा गरे। अन्य शोधार्थी र विद्यार्थीहरूले पनि आफ्ना विचार र जिज्ञासा प्रस्तुत गरे। अध्यक्षीय भाषणमा प्रो. प्रधानले भारतीय नवजागरणको प्रसङ्ग उठाउँदै तमिलका साथै भारतीले संस्कृत, हिन्दी, उर्दू, मराठी, अङ्ग्रेजी, फ्रान्सेली भाषामा भारतीको दक्षताबारे प्रकाश पार्दै तत्कालीन नेपाली साहित्यकारहरूसित पनि भारती परिचित हुनसक्ने सम्भावना व्यक्त गरे।









