खरसाङमा जम्मा ३०५ वटा बुथहरु
खरसाङ: २३ अप्रेल बिहीबारको दिन हुने विधानसभा चुनावको लागि खरसाङ विधानसभा समष्टिको विभिन्न बुथहरुमा मतदान कर्मीहरु प्रस्थान गरेका छन्। खरसाङ विधानसभा समष्टिको लागि मुख्य स्थल खरसाङको सन्त अल्फन्सेस विद्यालयबाट सबै बुथहरुमा मतदान कर्मीहरु प्रस्थान गरिसकेका छन्। बुधबार बिहानदेखि नै सन्त अल्फन्सेस विद्यालयमा भेला भएर मतदान कर्मीहरु आफुले पाएको ड्युटी अनुसार विभिन्न स्थानहरुमा रहेको बुथहरुको लागि प्रस्थान गरेका छन्। यसपाली खरसाङ विधानसभा समष्टिमा २९६ पुलिङ बुथ र ६ वटा अग्जीलेरी गरी जम्मा जम्मा ३०५ वटा बुथहरु रहेको छ। प्रत्येक बुथमा एकजना प्रिसाईडिङ अफिसर, फस्ट पुलिङ अफिसर, सेकेण्ड पुलिङ अफिसर र थर्ड पुलिस अफिसर लगाएर जम्मा ४ जना चुनाव कर्मीहरु तैनाथ गरिएको छ। खरसाङ विधानसभा समष्टिमा जम्मा १७ वटा बुथहरुलाई संवेदनशील बुथको रुपमा चिन्हित गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै एउटा बुथमा बंगाल पुलिस एकजना, ४ जना केन्द्रीय बलका जवानहरु गरेर एउटा बुथमा जम्मा ५ जना सुरक्षाकर्मीहरु तैनाथ गरिएको जानकारी प्राप्त भएको छ।

यसको साथै खरसाङ विधानसभा समष्टिमा २० वटा बुथहरु यस्ता छन् जसमा केबल महिला मतदान कर्मीहरु मात्रै रहेका छन्। मतदान कर्मीहरु बिहानदेखि आफ्नो ड्युटी रहेको विभिन्न स्थानहरुमा रहेको बुथहरुमा गईरहेको देखिएको छ। बंगाल विधानसभा चुनावको पहिलो चरणको शान्तिपूर्ण मतदानको लागि कडा सुरक्षा व्यवस्था गरिएको छ।










