मङ्गनमा सिक्किम इन्स्पायर्स अभिमुखीकरण बैठक सम्पन्न, ग्रामीण जीविकोपार्जन र उद्यमी प्रवर्धनमा जोड

FB_IMG_1788441923018

मङ्गन: सिक्किम सरकारको महत्त्वाकांक्षी कार्यक्रम ‘सिक्किम इन्स्पायर्स’ अन्तर्गत जिल्ला समावेशी आर्थिक समावेशीकरण कार्ययोजना (आईईआईएपी) कार्यान्वयन टोली (डीआईआईटी) को एकदिने अभिमुखीकरण बैठक सम्पन्न भएको छ। मङ्गन जिल्ला प्रमुख कार्यालयको सभाहलमा आयोजना गरिएको उक्त बैठकको अध्यक्षता मङ्गनका महकुमा अधिकारी (मुख्यालय) तथा सिक्किम इन्स्पायर्सका जिल्ला नोडल अफिसर सन्दीप कुमार (आईएएस) ले गरेका थिए।
​बैठकमा अतिरिक्त जिल्लापाल (विकास)-सह-सदस्य सचिव, मङ्गन, पासिङदाङ, काबी र चुङथाङका खण्ड विकास अधिकारी (बीडीओ), सिक्किम ग्रामीण जीविकोपार्जन मिसन (एसआरएलएम) का सहायक आयोजना प्रबन्धक, खण्ड आयोजना प्रबन्धक, लेखा अधिकृत तथा डीआईआईटीका सदस्यहरूको सहभागिता रहेको थियो।
​बैठकलाई सम्बोधन गर्दै एसडिएम सन्दीप कुमारले सिक्किम इन्स्पायर्सको मूल उद्देश्य, दिगो जीविकोपार्जन, आर्थिक आत्मनिर्भरता र संस्थागत सहयोगबारे स्पष्ट पारे। उनले योजनाको लाभ तृणमूल तहका नागरिकसम्म पारदर्शी र प्रभावकारी ढंगले पुऱ्याउनका लागि प्रशासनिक तथा विषयगत टोलीहरूलाई निर्देशन दिए।
​बैठकमा गैर-कृषि क्षेत्र, परम्परागत हस्तकला, सोभेनियर र हरित उद्यमका क्षेत्रमा उदाउँदा स्थानीय उद्यमीहरूको पहिचानका साथै सामुदायिक ‘उद्यम समूह’ (ईजी) गठन र सुदृढीकरणबारे विस्तृत छलफल भयो। सिक्किम इन्स्पायर्सले व्यावसायिक योजना, उत्पादन विकास, ब्रान्डिङ, वित्तीय पहुँच, ई-कमर्स र इन्क्युबेशनपछिको सहयोगसमेत उपलब्ध गराउनेबारे अवगत गराइयो।
​स्थानीय उद्यमीहरूलाई सहजीकरण गर्न खण्ड तहमा बिजनेस फेसिलिटेसन सेन्टर (बीएफसी) को पहिचान गरी यथाशीघ्र स्थापना गर्न बीडीओहरूलाई निर्देशन दिइएको छ। त्यसैगरी ग्रामीण उत्पादकहरूको लागत घटाउन र गुणस्तर सुधार गर्न साझा सुविधा केन्द्र (सीएफसी) हरूको जीर्णोद्धार, आधुनिक औजार तथा प्याकेजिङ उपकरण उपलब्ध गराइने निर्णय भएको छ।
​बैठकमा जिल्ला वार्षिक कार्ययोजना अन्तर्गत घरबास (होमस्टे), सामुदायिक पर्यटन, ग्रामीण हाटबजार विकास, सिक्किम इन्स्पायर्स इनोभेसन च्यालेन्ज र ‘लाइट्स, क्यामेरा, मङ्गन!’ अभियानजस्ता नवीन कार्यक्रमहरूको समीक्षासमेत गरियो।
​एसडिएमले जिल्लाका सबै निकाय, खण्ड प्रशासन र क्षेत्रमा खटिने टोलीहरूबीच सुदृढ समन्वय हुनुपर्नेमा जोड दिँदै मङ्गन जिल्लाभरि दिगो आर्थिक अवसर सिर्जना गर्न एकीकृत प्रयास आवश्यक रहेको बताए।

About Author

Advertisement