सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी

IMG-20260903-WA0080

काठमाडौं: सर्वोच्च अदालतको नयाँ भवनको भूमिगत (अन्डरग्राउन्ड) तल्लामा बुधबार राति आगलागी भएको छ। आगलागीका कारण केही कागजात जले पनि ठूलो क्षति भने नभएको सर्वोच्च अदालतले जनाएको छ।
आगलागी आज राति करिब १ बजेको समयमा भएको बताइएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे सर्वोच्च अदालत प्रशासन र प्रहरीले आ-आफ्नो तर्फबाट अनुसन्धान गरिरहेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आगलागी भूमिगत तल्लामा भएको हो। उनले आगलागीबाट सामान्य क्षति मात्र भएको जानकारी दिए।
उनका अनुसार आगलागीको कारण चुरोटको ठुटो फालिएको, विद्युत् सर्ट सर्किट भएको वा अन्य कुनै कारण हुन सक्ने आशंका गरिएको छ। उनले भने, “अन्डरग्राउन्डमा राति करिब १ बजेतिर आगलागी भएको हो। कसैले चुरोट खाएर फालेको हो कि, विद्युत् सर्ट सर्किटका कारण भएको हो कि वा अन्य कुनै कारण हो भन्नेबारे प्रशासन र प्रहरीले आ-आफ्नो ढंगले अनुसन्धान गरिरहेका छन्।”
आगलागीबाट कुनै ठूलो भौतिक क्षति नभएको प्रवक्ता कोइरालाले स्पष्ट पारे।
घटना नियोजित रूपमा गराइएको हुन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले प्रहरीको अनुसन्धानपछि मात्रै वास्तविकता खुल्ने बताए। “प्रहरीले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको छ। यो अवाञ्छित गतिविधि हो कि होइन भन्ने कुरा अनुसन्धानपछि मात्रै थाहा हुन्छ,” उनले भने।

About Author

Advertisement