भ्रष्टाचारको आरोपमा टीएमसी नेताको कपाल मुण्डन, जुत्ताको माला लगाएर गाउँ घुमाइयो

newindianexpress_2026-06-07_4aqu1005_TMC-Leader-Assaulted (1)

​​कोलकाता: पश्चिम बंगालको हावडा जिल्लामा सरकारी कल्याणकारी योजनाको नाममा रकम असुली गरेको आरोपमा आक्रोशित स्थानीयले सत्तारुढ तृणमूल कांग्रेस (टीएमसी) का एक स्थानीय नेतालाई बन्धक बनाएर नेताको टाउको मुण्डन गरी, जुत्ताको माला लगाएर गाउँ घुमाएका हुन्।
​यो घटना हावडाको अमरदाहा गाउँको हो। स्थानीयका अनुसार टीएमसी नेता संन्यासी मन्नाले विभिन्न सरकारी योजनाहरूको लाभ दिलाइदिने बहानामा सर्वसाधारणसँग अवैध रूपमा रकम माग्ने गरेका थिए। आक्रोशित स्थानीयले ती नेताको घरबाट ठुलो संख्यामा सर्वसाधारणका आधार कार्ड र मनरेगा (रोजगार ग्यारेन्टी योजना) का जब कार्डहरू समेत बरामद गरेको दाबी गरेका छन्।
​सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ग्रामीणहरूले मन्नालाई जुत्ताको माला लगाइदिएको र टाउको मुण्डन गरिरहेको देख्न सकिन्छ। यद्यपि, उक्त भिडियोको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

घटनाको सूचना पाएलगत्तै प्रहरी टोलीले घटनास्थल पुगेर मन्नालाई भिडको नियन्त्रणबाट सुरक्षित उद्धार गरेको थियो। प्रहरी अधिकारीहरूका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। हालसम्म यस मामिलामा कुनै औपचारिक उजुरी दर्ता नभए पनि ग्रामीणहरूले लगाएको भ्रष्टाचारको आरोप र दुर्व्यवहारको घटनाबारे विस्तृत छानबिन गरिने प्रहरीले जनाएको छ।
​यस घटनाले पश्चिम बंगालको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। स्थानीय स्तरमा यसलाई सरकारी योजनाहरूमा व्याप्त भ्रष्टाचार र त्यसप्रति जनतामा चुलिँदै गएको आक्रोशको रूपमा हेरिएको छ।

About Author

Advertisement