भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसलाई लिएर खरसाङमा केन्द्रीय समितिको सांगठनिक सभा सम्पन्न

dd1d28ca-145f-4255-9d88-9d77b28e05b9

खरसाङ (२९ अगस्त): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङमा हुने स्थापना दिवसलाई लिएर केन्द्रीय समितिको सांगठनिक सभा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको अध्यक्षतामा र खरसाङ महकुमा समितिको सभापति प्रणाम रसाइलीको सञ्चालनमा सम्पन्न भएको छ‌। आगामी ९ सेप्टेम्बरमा खरसाङको मन्टिभियट खेल मैदानमा हुन लागेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसलाई लिएर उक्त सभा सम्पन्न भएको छ। यसको साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो स्थापना दिवसको लागि तयारी थालेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको छैंटौं स्थापना दिवस समारोह यसपाली खरसाङमा नै आयोजना गरिने घोषणा पहिलेबाट पार्टी अध्यक्ष अनित थापाले गरिसकेका छन्। यसै क्रममा पार्टीको छैटौं स्थापना दिवस समारोहलाई लिएर शनिवार खरसाङमा सांगठनिक सभा आयोजना गरिएको छ। खरसाङमा सम्पन्न सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामाले सम्बोधन गर्दै भने, हाम्रो चुनौती भनेको हामी ठूलो क्षेत्रीय पार्टी बनिरहनु हो। यस पार्टीलाई स्थायी क्षेत्रीय राजनैतिक पार्टी कसरी बन्नु सक्छ त्यो कुरा छ। अब हामी यो पार्टी युवाहरुकोनहातमा दिन तयार छौं‌। युवाहरुले पनि राजनैतिक अनुभव लिएर काम गर्नुपर्छ। हामीलाई पनि राजनैतिक दलसित गठबन्धन गरेर अघि बढ्ने आवश्यकता छैन।’ उनले अघि भने, राजनीतिमा उत्तर चढाउ आउँछ तर हाम्रो पतन भने भएको होइन। केही साथीहरूले पार्टी छोडे पनि तल्लो तहदेखि नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीलाई सबैको साथ र सहयोग छ।’ उनले पार्टीको स्थापना दिवसपछि पार्टीको अधिवेशन आयोजना गर्नेछौँ भनी बताउँदै दुई दिवसीय अधिवेशन राखेर राजनैतिक प्रस्तावहरु पारित गर्ने पनि जानकारी गराएका छन्‌ सभामा दार्जिलिङ महकुमा समितिको सभापति आलोककान्तमणि थुलुङले वक्तव्य राख्दै भने,’हाम्रो संगठन केही पनि भएको छैन। अझैं बलियो बनेको छ। अबको नेतृत्वमा एका अर्कामा सपोर्ट गर्नुपर्छ। यो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पतन होइन तर उत्थान हो। हालमा युवाहरुले भागोप्रमोलाई युवाहरुले नेतृत्व गरिरहेका छन्। यो पार्टीमा छानिने प्रक्रिया रहेको छ।’ उनले गोजमुमो अध्यक्ष बिमल गुरुङमाथि अशोक भट्टाचार्यको बयानको विरोध जनाउँदै यो हाम्रो जातिको विषय हो। यसमाथि बोल्ने अधिकार कसैलाई छैन कारण यो हाम्रो जातिगत कुरा हो भनी बताएका छन्। सभामा बारुद थापा आदिले वक्तव्य राख्दै भने, जो संकटको घडीमा उँभिन्छ ऊ योध्दा हो। हाम्रो पार्टी अध्यक्ष जातिको लागि संघर्ष गरेर आएका निडर नेतृत्व हुन्। उनी मैदान छोडेर भागेनन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टी बिग्रेर गएको छैन। किनभने भागोप्रमो पार्टी जातिको लागि बनिएको पार्टी हो।’ उनले केही दिनपछि कालेबुङ क्षेत्रबाट धेरैजना भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल हुने दाबी समेत गरेका छन्। सभालाई केन्द्रीय उपाध्यक्ष प्रमोस्कर ब्लोन र मिरिक महकुमाका प्रवक्ता उमेश तोलङ्गीले पनि सम्बोधन गरेका थिए। यसै सभामा खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामु र पञ्चायत समिति सदस्य एन्ड्रुहाङ सुब्बालाई केन्द्रीय समितिमा नियुक्त गरिएको छ। त्यसरी नै मिरिक महकुमाको लागि फुबी राईलाई संयोजकको रुपमा नियुक्त गरिएको छ। त्यसरी नै खरसाङ महकुमा समितिमा उपाध्यक्ष लगायत अन्य पदहरुमा पनि नयाँ पदाधिकारीहरु नियुक्त गरिएको छ भने खरसाङ महकुमा अन्तर्गत पर्ने १३ वटा समष्टिकहरुमा नै नियुक्त नयाँ पदाधिकारीहरुलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा र महासचिव अमर लामाको बाहुलीबाट खदार्पणसहित स्वागत जनाइएको छ। सभामा पार्टी अध्यक्ष अनित थापाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसको लागि सबै पार्टी कार्यकर्ताहरुलाई उपस्थितिकि लागि आह्वान् गरे भने उनले आगामी ७ र ८ सेप्टेम्बरको दिन खरसाङमा युवा शक्तिको तर्फबाट पार्टीको झण्डा लगाउने कार्य सम्पन्न गरिने घोषणा गरेका छन्। यस सभामा पूर्व सभासदहरु क्रमशः अञ्जुल चौहान, नोर्देन शेर्पा, योगेन्द्र प्रधान, अरुण सिंग्ची, सतीश पोखरेल, हेमन्त राई साथै अनु प्रधान, जेबी तामाङ, एसपी शर्मा लगायत अन्यहरु दार्जिलिङ , कालेबुङ, सोनादा, मिरिक, बिजनबारी लगायत विभिन्न स्थानहरुबाट पार्टी प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस सांगठनिक सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस समारोहलाई लिएर खरसाङमा सांगठनिक सभा सम्पन्न भएको जानकारी गराएका छन्। उनले पार्टीको स्थापना दिवसलाई लिएर तयारी शुरु भएको पनि जानकारी गराएका छन्। त्यसरी नै खरसाङ महकुमा प्रवक्ताबाट केन्द्रीय समितिमा चयन भएका अनुप रामुदामुले‌ पार्टी र पार्टी अध्यक्ष अनित थापाले दिएको जिम्मेवारीलाई आफ्नो तर्फबाट पूर्ण रुपमा निभाउने वचनवध्दता प्रकट गरेका छन्। उनले पार्टीलाई आवश्यकता परेको बेला सदैव उपलब्ध रहने र पार्टीको लागि काम गर्ने पनि जानकारी गराएका छन्।

About Author

Advertisement