भारतको ६ वटा पदकको साथ पेरिस ओलम्पिकमा अभियान समाप्त

IMG-20240811-WA0150

नयाँ दिल्ली: खेलहरूको महाकुम्भ मानिने ओलम्पिकको आज अन्तिम दिन हो। समापन समारोहको साथ पेरिसमा जारी ओलम्पिक २०२४ खेलहरू समाप्त हुनेछ। भारतीय खेलाड़ीहरूका ओलम्पिक अभियान समाप्त भइसकेको छ। भारतले यसपाली जम्मा ६ वटा पदक जित्यो, जसमा ५ वटा काँस्य र एउटा रजत पदक सामेल छ। यसअघि टोक्यो ओलम्पिकमा चाहिँ भारतले एउटा स्वर्णसहित ७ वटा पदक जितेको थियो। गत २६ जुलाईदेखि शुरु पेरिस ओलम्पिकको निम्ति भारतीय ओलम्पिक संघ (आऊओए)-ले ७ जना रिजर्भसहित १७७ खेलाड़ीहरूका भारतीय दल पठाएको थियो। यसको साथमा १४० जना सहायक कर्मचारी र अधिकारी पनि पेरिस गएका थिए। भारतीय खेलाड़ीहरूले अधिकांश खेलहरूमै निराशाजनक प्रदर्शन गरे पनि केही खेलाड़ीहरूले पदक जितेर देशलाई गौरवान्वित गरे।
पेरिस ओलम्पिकमा भारतले आफ्नो पहिलो पदक २८ जुलाईमा जित्यो। शूटर मनु भाकरले महिलाहरूका १० मीटर एयर पिस्टल स्पर्धामा काँस्य पदकको साथ भारतको खाता खोलिन्। फाइनलमा मनुले २२१.७-को स्कोर बनाएकी थिइन्। यसरी उनी ओलम्पिकको शूटिंग खेलमा पदक जित्ने पहिलो भारतीय महिला बनेकी थिइन्। मनुले व्यक्तिगत दोस्रो पदक जित्न अधिक समय लगाइनन्। उनले सरबजोत सिंहसँग मिलेर १० मीटर एयर पिस्टल मिश्रित टीम स्पर्धामा पनि काँस्य पदक जितिन्। भारतले काँस्य पदकको लड़ाइँमा दक्षिण कोरियाकी ओह ये जिन र ली वोन्होको टीमलाई १६-१०-ले पराजित गऱ्यो। यसको साथै मनुले इतिहास रचिन्। उनी एउटै ओलम्पिकमा २ वटा पदक जित्ने पहिलो भारतीय बनिन्।
भारतलाई पेरिसमा तेस्रो पदक स्वप्निल कुसालेले दिलाए। यस युवा शूटरले पुरुषहरूका ५० मीटर राइफल थ्री पोजिशनमा देशको निम्ति काँस्य पदक जिते। स्वप्निल यस स्पर्धामा ओलम्पिक पदक जित्ने भारतका पहिलो शूटर हुन्। स्वप्निलको पदक अप्रत्याशित थियो कारण कसैले पनि उनलाई पदक जित्ने रेसमा राखेका थिएनन्। यसरी उनले सबैलाई चकित पारेर काँस्य पदक आफ्नो नाम गरे।
भारतीय पुरुष हकी टीमबाट पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्ने आशा गरिएको थियो। अन्तमा स्वर्ण नआए पनि भारतीय टीमले आफ्नो काँस्य पदकलाई आफूसँग कायम राख्यो। भारतले टोक्यो ओलम्पिक २०२०-मा ४१ सालदेखि जारी पदकको खड़ेरी समाप्त गरी काँस्य पदक जितेको थियो। त्यसपछि भारतीय पुरुष हकी टीमले पेरिस ओलम्पिकमा पनि त्यही कहानी दोहोऱ्याउँदै काँस्य पदक जित्यो। भारतले काँस्य पदकको म्याचमा स्पेनलाई २-१-ले पराजित गऱ्यो।
भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले ८ अगस्तमा पेरिस ओलम्पिकमा रजत पदक जिते। उनले ८९.४५ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ दोस्रो स्थानमा रहेर रजत जिते। टोक्योमा उनले स्वर्ण पदक जितेका थिए तर उनले यसपाली पहिलो स्थान हासिल गर्न सकेनन्। स्पर्धामा फाइनलमा चोटको साथ खेलिरहेका नीरजको ६ वटा प्रयासमा ५ वटा त फाउल नै रह्यो। उनले टोक्योमा ८७.५८ मीटरको थ्रो गरी स्वर्ण पदक जितेका थिए। यसपाली उनले सीजनको सर्वश्रेष्ठ प्रयास गरे पनि रजक पदकमै सन्तोष मान्नु पऱ्यो। भारतले पेरिसमा छैटौं तथा अन्तिम पदक ९ अगस्तमा जित्यो। पुरुषहरूका फ्रीस्टाइल कुश्तीमा ५७ किग्रा भार वर्गमा अमन सहरावतले काँस्य पदक जिते। उनले काँस्य पदकको लड़ाइँमा पुअर्तो रिकोका पहलवान डेरियन टोई क्रूजलाई १३-५-ले पराजित गगरे। अमन पेरिस ओलम्पिकमा भारतका एकमात्र पुरुष पहलवान थिए।

About Author

Advertisement