भाजपाद्वारा सुकना अनुसन्धान केन्द्रका अध्यक्षलाई ज्ञापन

IMG-20260508-WA0074

खरसाङ: भारतीय जनता पार्टीको सुकुना-पानीघट्टा मण्डलका अध्यक्ष अजय शर्माको नेतृत्वमा शुक्रवार सुकना अनुसन्धान केन्द्रका अध्यक्षलाई भेट गरेर एक महत्वपूर्ण ज्ञापन पत्र बुझाएका छन्। पश्चिम बंगालमा भारतीय जनता पार्टीको अभूतपूर्व विजयपश्चात् राज्यका विभिन्न सरकारी निकायहरूबाट महत्वपूर्ण फाइल, गोपनीय दस्तावेज र प्रमाणहरू नष्ट गर्ने वा लुकाउने प्रयास भइरहेका खबरहरूलाई मध्यनजर गर्दै यो कदम चालिएको बताइएको छ। मण्डलका प्रतिनिधिहरूले सुकुना क्षेत्रका स्थानीय सरकारी कार्यालयहरूमा पनि यस्ता अवाञ्छित गतिविधिहरू हुनसक्ने प्रबल सम्भावना व्यक्त गरेका छन्। विशेष गरी सुकुना ग्राम पञ्चायत सुकुना प्राथमिक स्वास्थ्य केन्द्र (अस्पताल) र आरआई अफिस जस्ता निकायहरूमा रहेका ऐतिहासिक र प्रशासनिक दस्तावेजहरूको सुरक्षा अहिलेको मुख्य आवश्यकता रहेको भाजपाको ठहर छ।
ज्ञापन पत्र मार्फत भाजपाले उक्त कार्यालयहरूमा यथाशीघ्र पुलिस सुरक्षा प्रदान गर्न जोडदार माग गरेको छ। यदि सरकारी सम्पत्ति र कागजातको सुरक्षा गरिएन भने, भविष्यमा हुनसक्ने सम्भावित घोटालाहरूको छानबिनमा गम्भीर अवरोध पुग्ने र सत्य तथ्य ओझेलमा पर्ने निश्चित छ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ। यस विषयको गम्भीरतालाई ध्यानमा राख्दै उक्त ज्ञापन पत्रको प्रतिलिपि दार्जीलिङका जिल्लापाल, खरसाङका महकुमा अधिकारी, दार्जीलिङका पुलिस उपरीक्षक, एसडीपीओ तथा र आइसी खरसाङलाई पनि आवश्यक कार्यवाहिका निम्ति पठाइएको छ। जनताको सार्वजनिक दस्तावेज र प्रमाणको सुरक्षाका निम्ति भारतीय जनता पार्टी सधैं तत्पर र सचेत रहने प्रतिवद्धता व्यक्त गर्दछ।
यस अवसरमा उपस्थित टोली
भारतीय जनता पार्टी (भाजपा) अजय शर्मा, अध्यक्ष, सुकुना-पानीघट्टा मण्डल, चन्द्र शेखर भण्डारी, पञ्चायत सदस्य, सुकुना, हेमा तामाङ पञ्चायत सदस्य, सुकुना, अरुणा छेत्री, पञ्चायत समिति सदस्य, सुकुना, गठबन्धन सहयोगीबाट ऐक्यवद्धता-सोनम लामा नरेश प्रधान उपस्थिति रहेका थिए भनी भाजपा सुकुना-पानीघट्टा मण्डल, अध्यक्ष अजय शर्माले जानकारी दिएका छन्।

About Author

Advertisement