तेजस्वी यादव उपमुख्यमन्त्री हुने
पटना: बिहारमा नयाँ गठबन्धन सरकारले भोलि अर्थात बुधबार दिउँसो २ बजे शपथ ग्रहण गर्ने भएको छ। स्रोतका अनुसार तेजस्वी यादव उपमुख्यमन्त्री बन्ने भएका छन्। मङ्गलबार नितिश कुमार र तेजस्वी यादव अनि महागठबन्धनका नेताहरूले बिहारमा नयाँ सरकार गठनको दाबी गरे। राज्यपाललाई बुझाइएको पत्रमा १६४ विधायकहरूको समर्थन छ। जसमा सात दलका विधायक रहेका छन्। सरकार गठनको दावी गरेपछि नितिश कुमार र तेजस्वी यादवले सञ्चारकर्मीसँग कुराकानी गरे। संयुक्त वार्तामा नितिश कुमारले भने, ‘म यहाँ राज्यपाललाई भेट्न आएको हूँ र बिहारको सेवा गर्ने हाम्रो एजेन्डा हो भनेर राजीनामा दिएँ। सात दलको समर्थन छ। यसमा वामपन्थी र जितनराम मांझीको पार्टी पनि परेको छl’ नितिश कुमारले पनि आरसीपी सिंहको नाम नलिई भाजपालाई निशाना बनाए।
तेजस्वी यादवले भने, ‘भाजपासँग कुनै गठबन्धन साझेदार छैन, इतिहासले देखाउँछ कि भाजपाले आफ्नो सहयोगी दलहरूलाई नष्ट गर्छ। हामीले पञ्जाब र महाराष्ट्रमा के भयो देख्यौं। बिहारमा जे भइरहेको छ त्यो कसैबाट लुकेको छैन। जनता विकल्प चाहन्छन्, बिहारले विशेष दर्जा पाएन। नितिश कुमारले आफ्नो काम गरे, उनले यो माग प्रधानमन्त्रीको अगाडि राखे तर उनको माग मानिएन। आज भाजपा बाहेक सबै दल र बिहार विधानसभाका सदस्यहरूले नितिश कुमारलाई आफ्नो नेताको रूपमा स्वीकार गरेका छन्l’










