बाबर आजम टेस्ट करियर बचाउन अनि लय हासिल गर्न ७ सालपछि घरेलु क्रिकेट खेल्ने तयारीमा

IMG-20260915-WA0087

नयाँ दिल्ली: पाकिस्तानका स्टार ब्याटर बाबर आजमलाई फेरि एकपल्ट घरेलु प्रथम श्रेणी (फर्स्ट क्लास)-को क्रिकेट खेलिरहेको देखिनेछ। टेस्ट क्रिकेटमा लगातार खराब प्रदर्शन र तक्निकलाई लिएर उठिरहेको प्रश्नहरूबीच बाबरलाई ७ सालपछि लामो प्रारूपको घरेलु क्रिकेट खेलिरहेको देखिनेछ। उनले जारी प्रेसिडेण्ट्स ट्रफी ग्रेड-१ टुुर्नामेण्टमा ओयल एण्ड ग्यास डेवलपमेण्ट कम्पनी लिमिटेड (ओजीडीसीएल)-को तर्फबाट अतिथि खेलाड़ीको रूपमा खेल्नेछन्। बाबरले टेस्ट क्रिकेटको निम्ति आफूलाई तयार राख्न अनि गुमाएको लय हासिल गर्ने लक्ष्य लिएर यस्तो कदम उठाएका हुन्। बाबरले टेस्ट क्रिकेटमा आफ्नो अन्तिम शतक दिसम्बर २०२२-मा बनाएका थिए। उनले कराचीमा न्यूजील्याण्डविरुद्ध १६१ रनको ईनिंग्स खेलेका थिए। त्यसपछि टेस्ट क्रिकेटमा उनको प्रदर्शन आशानुरुप रहेको छैन। २०२३-को शुरुवातदेखि टेस्ट क्रिकेटमा उनको औसत ३०.४३-को रहेको छ, जुन उनको करियर औसतभन्दा १२.५५ प्रतिशत कम्ती हो। यस अवधि बाबरले ३९ वटा ईनिंग्समा केवल ८ वटा अर्द्धशतक बनाएका छन्। एक समय त उनी लगातार १८ वटा ईनिंग्समा ४१ रनदेखि अघि बढ़न सकेका थिएनन्। उनले गत ५ वटा टेस्ट म्याचमा चाहिँ ४ वटा अर्द्धशतक बनाएका छन्। गत महिना वेष्ट इण्डिज यात्रामा खेलिएको दोस्रो अनि अन्तिम टेस्टमा उनको सर्वोच्च स्कोर ८८ रन रहेको थियो। त्यस म्याचमा पाकिस्तानले जीत हासिल गरेको थियो, जुन जुलाई २०२३ पछि टोलीको विदेशी माटोमा पहिलो टेस्ट म्याच जीत थियो। त्यस जीतको साथ टोलीले विदेशमा लगातार ८ वटा टेस्ट म्याचमा हारको क्रम पनि तोड़ेको थियो।
बाबरले अन्तिमपल्ट २०१९-मा घरेलु प्रथम श्रेणीको क्रिकेट खेलेका थिए। त्यस समय उनले अहिले समाप्त भइसकेको सेण्ट्रल पञ्जाब टोलीको कप्तानी गर्दै कायद-ए-आजम ट्पफीको फाइनलमा नर्दर्नलाई पराजित गरी खिताब जितेका थिए। २०१९-को त्यो सीजन पनि घरेलु प्रथम श्रेणीको क्रिकेटमा बाबरको नियमित उपस्थिति रहेको थिएन। पाकिस्तानको अन्तर्राष्ट्रिय कार्यक्रमले गर्दा उनले त्यस सीजनमा केवल २ वटा प्रथम श्रेणीको म्याच खेलेका थिए। २०१५ पछि त्यो एकमात्र सीजन थियो, जब उनले एउटा सीजनमा एकाधिक घरेलु प्रथम श्रेणीको म्याच खेलेका थिए। यसपाली बाबरले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-सँग फेरि घरेलु क्रिकेट खेल्ने इच्छा व्यक्त गरेका छन्। त्यसपछि बोर्डले ओजीडीसीएल टोलीमा उनको व्यवस्था गरेको छ। बाबरको खराब लय पाकिस्तानी क्रिकेटमा चर्चाको विषय बनेको छ। पूर्व क्रिकेटरहरूलाई सार्वजनिक मञ्चमा उनको ब्याटिंग तक्निकमा रहेको कमीहरूको विश्लेषण गरिरहेका छन्। पाकिस्तानले हालै ईंग्ल्याण्डविरुद्ध ३ वटा टेस्ट म्याचको सीरीजमा ०-३-ले हारको सामना गर्नु परेको थियो। त्यस सीरीजमा ईंग्ल्याण्डका पेस बलरहरूले लर्डस र एजबेस्टनमा शर्ट बलको प्रयोग गरी उनलाई बारम्बार सताएका थिए। चोटले गर्दा बाबरले हेडिंग्लेमा भएको पहिलो टेस्ट म्याच खेलेका थिएनन्। बाबरसहित अधिकांश सीनियर ब्याटरहरूका लगातार खराब प्रदर्शनले गर्दा पाकिस्तानको विशेषगरी टेस्ट क्रिकेटमा दुर्दशा भइरहेको छ। पाकिस्तानी टोली अहिले आईसीसी टेस्ट ऱ्याङकिंगमा नवौं स्थानमा रहेको छ। यसरी ९ वटा टोली भएको विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पनि टोली अन्तिम स्थानमा रहेको छ।
​

About Author

Advertisement