खरसाङ: ७०औँ पश्चिम बंगाल राज्य विद्यालय खेलकूदमा सहभागी हुन दार्जीलिङ जिल्लाको कराते टोली काेलकत्ता प्रस्थान गरेको छ। पश्चिम बंगाल राज्य कराते छनोट प्रतियोगिता १५ देखि १९ सेप्टेम्बरसम्म सल्ट लेक, कलकत्तास्थित विवेकानन्द युवा भारती मैदानमा सञ्चालन हुनेछ। यस अघि १२ सेप्टेम्बरमा दार्जीलिङ जिल्ला कराते छनोट प्रतियोगिता खरसाङस्थित सेन्ट जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो। उक्त प्रतियोगिता दार्जीलिङ डिस्ट्रिक्ट काउन्सिल फर स्कूल गेम्स एण्ड स्पोर्ट्सद्वारा आयोजित तथा मार्शल आर्ट्स एण्ड फिटनेस एकाडेमीद्वारा प्रायोजित गरिएको थियो। उक्त प्रतियोगिताको प्राविधिक व्यवस्थापन स्पोर्ट्स कराते-डो एसोसिएशन अफ दार्जीलिङ जिल्लाका साधारण सचिव सेन्सेई सन्दीप गोर्खा प्रधानले मिलाएका थिए। दार्जीलिङ जिल्लाका रेफ्री कमिसन सदस्य सेन्सेई सुशिल छेत्री इन्चार्जका रूपमा कार्यरत् थिए भने खरसाङ सब डिभिजनल काउन्सिल फर स्कूल गेम्स एण्ड स्पोर्ट्सका साधारण सचिव फुर्बा शेर्पाले शिक्षा विभागका सम्पूर्ण विभागीय प्रक्रियाहरू सम्हालेका थिए।

विभिन्न विद्यालयका शारीरिक शिक्षा शिक्षक-शिक्षिका सुष्मा छेत्री, मित्र छेत्री, तृष्णा चाङ, सुरेन तामाङ, बसन्ती तामाङ तथा अन्यले सहभागीहरूको कागजपत्र प्रमाणीकरण सम्पन्न गरेका थिए। प्रतियोगितामा विभिन्न विद्यालयहरूबाट १४ वर्षमुनि, १७ वर्षमुनि अनि १९ वर्षमुनिका छात्र तथा छात्रा वर्गमा मोठ दस जना छात्र अनि दस जना छात्रा छनोट भएका छन्। टोली प्रबन्धकको रूपमा नियुक्त सेन्सेई दिपेश चौहानको मार्गदर्शनमा टोली मंगलवार कलकत्ता पुगेको छ। सेन्सेई रोजी प्रधानलाई महिला प्रशिक्षक अनि सेन्सेई सञ्जोग थापालाई पुरुष प्रशिक्षकका रूपमा नियुक्त गरिएको छ। सेन्सेई सन्दीप प्रधान अनि फुर्बा शेर्पाले विद्यालयको हल उपलब्ध गराई सहयोग गरेकोमा सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयकी प्रधानाध्यापिकाप्रति आभार व्यक्त गरेका छन्। उनीहरू दुवैले जिल्ला तथा उप-विभागीय समितिका सम्पूर्ण सदस्यहरू र जिल्ला शारीरिक शिक्षा कार्यालयका कर्मचारीहरूलाई उनीहरूको सहयोगका लागि धन्यवाद दिएका छन्। अन्तमा, एसजीएफआई राष्ट्रिय खेलकुदका लागि राज्य स्तरीय कराते छनोटमा विद्यार्थीहरूलाई सहभागी गराउन निरन्तर सहयोग र सहकार्य गरेकोमा डिस्ट्रिक्ट काउन्सिल फर स्कूल गेम्स एण्ड स्पोर्ट्सका जिल्ला साधारण सचिव तथा सेन्ट रोबर्ट्स स्कूलका शारीरिक शिक्षा शिक्षक सिद्धार्थलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ भनी सेन्सेई सन्दीप प्रधानले जानकारी दिएका छन्।





