खरसाङ (१५ सेप्टेम्बर): लङ्भ्यू चिया बगानका श्रमिकहरूको निम्ति भविष्य निधि खाताहरू नियमित गर्न र सुधार गर्न शिविर सञ्चालन गर्न अनुरोध गर्दै यहाँको एउटा श्रमिक संगठन हिल प्लान्टेशन इम्प्लोइज युनियन (एचपीईयु) ले पीएफ कार्यालयमा एउटा ज्ञापन पत्र चढाएको छ। संगठनको पक्षबाट प्राप्त जानकारी अनुसार एचपीइयुको ब्यानरमा लङ्भ्यू चिया बगानका श्रमिकहरूले बगान मालिकले श्रमिक सञ्चय कोषमा भविष्य निधिको श्रमिकको हिस्सा भुक्तानी गरेपछि भोक हडताल फिर्ता लिएको चालिस दिनभन्दा धेर भइसक्यो। तर लङ्भ्यू चिया बगानको व्यवस्थापनद्वारा अहिलेसम्म पीएफ खाताको संशोधन अनि भूलबारे कुनै स्थायी समाधान गरिएको छैन। विगत दुइ वर्षदेखि नै यस कमानमा पीएफ खाताहरूको विवरणमा त्रुटिहरू बारे एचपीईयुद्वारा जनाउँदै आएको थियो। तर विगत लामो समयदेखि रोकिएको सुधारको कामको अझैसम्म कार्य पूरा भएको छैन। त्यसैले यो अवस्थालाई ध्यानमा राखेर सङ्गठनको तर्फबाट केन्द्रिय सचिव छेवाङ यञ्जनले लङ्भ्यू चिया बगानका श्रमिकहरूको तर्फबाट लङ्भ्यू चिया बगानका सबै श्रमिकहरूको पीएफ खाताहरूको सम्बन्धमा भएका सबै गल्ती र त्रुटिहरूको पूर्ण सुधारको निम्ति अतिशीघ्र पीएफ क्याम्पको अनुरोध गर्दै ज्ञापन पत्र लेखेका छन्। सङ्गठनले क्याम्प जतिसक्दो चाँडो आयोजना गरिने आशा व्यक्त गर्दै अन्यथा श्रमिकहरु आन्दोलनको अर्को लहरमा एक कदम अगाडि बढ्न बाध्य हुनेछन् भनी चेताउनी पनि दिएको छ। तिनीहरूले ईपीएफओ-लाई लङ्भ्यू चिया बगानका मालिक गोविन्द गर्गले जमा नगरेको पीएफको मालिकको हिस्साको पुन:प्राप्तिको लागि चाँडो कारबाही गर्ने पनि अनुरोध गरेको छ।





