बाढ़जन्य परिस्थितिको सामना गर्दै गाउँलेहरू

IMG-20220618-WA0079.jpg

कालचिनी– गत ५ दिनदेखि लगातार परिरहेको मुसलधारे बर्षाले अहिले डुवर्सको गाउँघरहरूमा प्रायः बाढ़जन्य परिस्थितिको सृजना भएको छ। एकहोरो ओइरीरहेको पानीले नदी नालाहरू र बाटोको पानीजति प्लावित भएर घरभित्र पस्नाले गत राती धेरै परिवार सदस्यहरू अनिँदो बस्न परेको स्तिथि पनि परिलक्षित भएको छ।

रातभरिको मुसलधारे बर्षाले मेचपाड़ा चियाबारीको पक्का लाईनको झोड़ामा खोलाको पानी टम्म भएर पक्का लाईनको प्रायः घरहरूमा पानी पसेको स्थानीय बासिन्दाहरूले जनाएका छन्। पक्कालाईन स्थित स्कूल लगायत मानिसहरूको घरमा पानी पसेकोले सबै गाउँलेहरू रातभरि जागो बस्न बाध्य भएको थियो। यता मेचपाड़ा ८ नम्बर गुम्बा लाईनमा पनि प्रायः ४-५ घरहरूमा पानी पसेकोले परिवार सदस्यहरू रातभरि जागो बस्न परेको जान्नमा आएको छ। यसैबीच शुक्रबार राती एक झुण्ड हात्तीको दलले भाटपाड़ा स्टाफ लाईन स्थित बिमल टोप्पोको सुपाड़ी बारी तहस नहस गरिदिएको स्वयम् बिमल टोप्पोले जनाएका छन्। मुसलधारे पानी परिरहेकोबीच जङ्गली हात्तीको एउटा झुण्डको प्रायः १६ वटा हात्तीले सुपाड़ी बारीमा पसेर प्रायः चार पाँच बर्ष पुगेको २०० वटा सुपाड़ी गाँछ सखाप पारेको बिमल टोप्पोले जनाएका छन्। उक्त हात्तीको झुण्डले घरपट्टि केही क्षति नगरे तापनि सुपाड़ी बारी सबै ध्वंस पारेकोले धेरै क्षति पुगेको टोप्पो परिवारले जनाएका छन्।

यता रातीको मुसलधारे पानीले मेचपाड़ा ९ नम्बर लगायत पक्का लाईनको घरहरूमा पानी पसेकोले सबै गाउँलेहरूको घरमा आज चुल्हो नजलेको अवस्था भइरहेको र यस्तो स्थितिमा कालचिनी ब्लक प्रशासन र चुवापाड़ा ग्राम पञ्चायत प्रधान कसैले पनि निरीक्षण गर्न नआएको स्थानीय समाजसेवी श्यामल लामाले जनाएका छन्। गाउँलेहरू सबै नै समस्यामा परिरहेको बेला न त ग्राम पञ्चायत न नै कालचिनी ब्लक प्रशासन कसैले पतो नदिएको स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन्। यता यस्तो स्थितिबीच गाउँका दुईजना रिटायर्ड भारतीय सेना सञ्जय तिर्की र टीके तामाङले गाउँलेहरूलाई राहतको निम्ति चिया र बिस्कुट वितरण गरिदिएको गाउँलेहरूले जनाएका छन्।

About Author

Advertisement