अधिकारीहरूलाई भने: केवल ‘हो मा हो’ मिलाउन बन्द गर्नुहोस्
काेलकाता: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पदभार ग्रहण गर्ने बित्तिकै प्रशासनिक अधिकारीहरूसँग उच्चस्तरीय बैठक गर्दै कडा निर्देशन दिएका छन्। सोमबार पहिलो दिन राज्य सचिवालय ‘नवान्न’ पुगेर उनले राज्यका शीर्ष प्रशासनिक अधिकारी र विभिन्न विभागका सचिवहरूसँग छलफल गरे। यस अवसरमा उनले अधिकारीहरूलाई कुनै पनि राजनीतिक दबाब बिना इमानदारीपूर्वक काम गर्न र राज्यको विकासका लागि स्पष्ट सुझाव दिन निर्देशन दिए। उनले अधिकारीहरूलाई स्पष्ट शब्दमा हरेक कुरामा ‘हो मा हो’ मिलाउन बन्द गर्न र राज्यको हितका लागि आफ्नो वास्तविक राय राख्न आग्रह गरे। उनले आफूलाई खुसी पार्नका लागि मात्र काम गर्न आवश्यक नरहेको र इमानदारीपूर्वक काम गर्ने अधिकारीहरूको पक्षमा सरकार सधैं उभिने विश्वास दिलाए।
प्रशासनिक कार्यशैलीमा ठूलो परिवर्तनको संकेत दिँदै मुख्यमन्त्री अधिकारीले अबदेखि सरकारी परियोजना, होर्डिङ वा शिलालेखहरूमा ‘मुख्यमन्त्रीको अनुप्रेरणाले’ जस्ता शब्दहरू लेख्न आवश्यक नरहेको स्पष्ट पारे। उनले सरकारी काम जनताका लागि हुने र यो कुनै व्यक्ति विशेषको छवि निर्माण गर्ने माध्यम बन्नु नहुने धारणा व्यक्त गरे। बैठकमा उनले पूर्ववर्ती सरकारका पालामा रोकिएका वा पूर्ण रूपमा लागू नभएका केन्द्र सरकारका योजनाहरूलाई अब प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन्। साथै, सरकारी ढुकुटीको प्रयोग अत्यन्त जिम्मेवारीका साथ गर्न र अनावश्यक खर्चमा कडा नियन्त्रण गर्न समेत उनले सचेत गराए।
यस उच्चस्तरीय बैठकमा राज्यका मुख्य सचिव दुष्यन्त नारियाला, गृह सचिव संघमित्रा घोष, राज्य पुलिस महानिर्देशक सिद्धिनाथ गुप्ता र कोलकाता पुलिस आयुक्त अजय नन्द लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। मुख्यमन्त्रीले जिल्ला अधिकारी र पुलिस प्रमुखहरूसँगको छुट्टै बैठकमा पनि प्रशासनलाई निष्पक्ष र नियमसंगत ढंगले चलाउने आफ्नो संकल्प दोहोऱ्याए। सचिवालय पुग्दा उनलाई कोलकाता र राज्य पुलिसले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो। यसअघिको सरकारको प्रशासनिक संस्कृतिमा व्यापक सुधार गर्ने लक्ष्यका साथ मुख्यमन्त्रीले पहिलो दिनदेखि नै सक्रियता देखाएका छन्।











