देवेन्द्र किशोर
नेपाल–भारत खुला सीमाको संवेदनशीलता फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ। पश्चिम बंगालको नक्सलबारी रथ खोला क्षेत्र अन्तर्गत बि.पी. नं ८८/०८ आसपासबाट दुई थाई महिला नुसा किडवान(४३) र साबिनी चालासाईं (३३), एक नेपाली र एक भारतीय नागरिकलाई मंगलबार साँझ सीमा सुरक्षा बल ४१औ बटालियन रानीडाँगा अन्तर्गत बी कम्पनी मदनजोत टोलीले अपरेशन गरेर उनिहरुसंगै पासपोर्ट, आधार कार्ड, एउटा कार, मोवाइल, र राष्ट्रिय परिचय पत्रका साथ पक्राउ परेको घटनाले केवल अवैध प्रवेश प्रयासलाई मात्र संकेत गर्दैन, यसले नेपाल–भारत सीमामा विकसित हुँदै गएको अन्तर्राष्ट्रिय मानव तस्करी, यौन व्यवसाय र सुरक्षा व्यवस्थाको कमजोरीलाई पनि उजागर गरेको छ। विशेष गरी नेपालमा विदेशी महिलामाथि निगरानी कडा हुन थालेपछि उनीहरूले वैकल्पिक रूपमा खुला सीमाको दुरुपयोग गर्दै भारत प्रवेश गर्न खोज्नु गम्भीर सुरक्षा संकेत हो।
नेपाल र भारतबीचको खुला सीमा ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धको प्रतीक मानिन्छ। तर यही खुलापन अहिले संगठित अपराधका लागि सहज माध्यम बन्दै गएको देखिन्छ। पछिल्ला वर्षहरूमा तेस्रो देशका नागरिकहरू नेपाललाई “ट्रान्जिट रुट” बनाएर भारत प्रवेश गर्ने घटनाहरू बढिरहेका छन्। थाई महिलाहरूको गिरफ्तारीले पनि यही प्रवृत्तिलाई पुष्टि गरेको छ। प्रारम्भिक अनुसन्धानले उनीहरू “थाई मसाज” को आवरणमा यौन व्यवसायसँग जोडिएको आशंका देखाएको छ, जसले पर्यटन, वैदेशिक रोजगारी र सेवा व्यवसायको नाममा भइरहेको गैरकानुनी सञ्जालप्रति गम्भीर प्रश्न उठाएको छ।
नेपालमा पछिल्लो समय विदेशी नागरिकको गतिविधिमाथि निगरानी बढाइएको छ। विशेष गरी काठमाडौं, पोखरा र सीमावर्ती क्षेत्रमा सञ्चालन भइरहेका मसाज सेन्टर तथा मनोरञ्जन व्यवसायमाथि प्रहरी सक्रिय भएपछि यस्ता समूहहरू वैकल्पिक मार्ग खोज्न बाध्य भएको देखिन्छ। यसै सन्दर्भमा भारत प्रवेशका लागि खुला सीमा र अनौपचारिक बाटो प्रयोग गरिएको अनुमान गरिएको छ। यसले सुरक्षा संयन्त्रबीच अझ सशक्त समन्वय आवश्यक रहेको स्पष्ट बनाउँछ।
यो घटना केवल आपराधिक गतिविधिको विषय मात्र होइन, राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको सवाल पनि हो। नेपाल–भारत सीमा क्षेत्रमा पर्याप्त प्रविधि, निगरानी संयन्त्र र संयुक्त गस्तीको अभावले मानव तस्कर, लागूऔषध कारोबारी तथा अन्तर्राष्ट्रिय गिरोहहरूलाई सहजता दिएको छ। खुला सीमाको मानवीय र ऐतिहासिक महत्व कायम राख्दै त्यसको दुरुपयोग रोक्नु अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ।
यस घटनाले अर्को महत्वपूर्ण प्रश्न पनि उठाएको छ—के नेपाल विदेशी नागरिकका लागि कमजोर निगरानी भएको “सेफ ट्रान्जिट” बन्दै गएको हो? यदि विदेशी नागरिकहरू सजिलै नेपाल प्रवेश गरेर अवैध गतिविधिमा संलग्न हुन सक्ने अवस्था रहिरह्यो भने यसले नेपालको अन्तर्राष्ट्रिय छविमाथि समेत असर पार्न सक्छ। साथै, मानव बेचबिखन र यौन शोषणजस्ता अपराधमा नेपाल अनाहकमा अन्तर्राष्ट्रिय सञ्जालको केन्द्र बन्ने खतरा पनि बढ्न सक्छ।
समाधानका लागि नेपाल र भारतबीच केवल कूटनीतिक सहकार्य मात्र पर्याप्त हुँदैन। सीमा क्षेत्रमा प्रविधिमैत्री निगरानी, संयुक्त सूचना आदानप्रदान, संदिग्ध गतिविधिमाथि तत्काल कारबाही र विदेशी नागरिकको गतिविधिको प्रभावकारी अभिलेखीकरण आवश्यक छ। साथै, “मसाज”, “स्पा” वा “मनोरञ्जन सेवा” को नाममा सञ्चालन भइरहेका संस्थाहरूको नियमित अनुगमन अपरिहार्य देखिन्छ।
नक्सलबारीको यो घटना एउटा सामान्य गिरफ्तारीभन्दा धेरै ठूलो संकेत हो। यसले खुला सीमाको संवेदनशीलता, अन्तर्राष्ट्रिय अपराध सञ्जालको फैलावट र नेपाल–भारत सुरक्षा संयन्त्रको चुनौतीलाई एकैसाथ उजागर गरेको छ। यदि यस्ता घटनाबाट समयमै पाठ सिकिएन भने भविष्यमा सीमा केवल आवागमनको बाटो होइन, संगठित अपराधको गल्छी बन्न सक्ने खतरा अझ बढ्नेछ।










