फ्रेञ्च ओपन पुरुष एकलको फाइनलमा पुग्न सफल ज्वेरेव र कोबोली

IMG-20260606-WA0031

पेरिस: जर्मनीका स्टार टेनिस खेलाड़ी तथा दोस्रो वरीयता प्राप्त अलेक्जेण्डर ज्वेरेवले असाधारण प्रदर्शन गर्दै चेक रिपब्लिकका युवा खेलाड़ी जेकब मेन्सिकलाई पराजित गरी फ्रेञ्च ओपन २०२६-मा पुरुष एकलको फाइनलमा प्रवेश गरे। ज्वेरेवले टुर्नामेण्टको पहिलो सेमिफाइनलमा मेन्सिकलाई ७-५, ६-२, ३-६, ६-३-ले पराजित गरे। यो ज्वेरेवको दोस्रो फ्रेञ्च ओपन फाइनल हुनेछ। अब आइतवार खेलिने फाइनलमा उनको भिड़न्त इटलीका फ्लावियो कोबोलीसँग हुनेछ। कोबोलीले वक्ओभर पाएर सीधै फाइनलमा प्रवेश गरे। उनका प्रतिद्वन्द्वी इटलीकै मातेओ अर्नाल्डी भायरल अस्वस्थ्यताले गर्दा म्याच खेल्न ओर्लिएनन्। विश्वका नम्बर ३ खेलाड़ी ज्वेरेव आफ्नो करियरको पहिलो ग्राण्ड स्ल्याम खिताबको खोजमा छन्। यसरी कोबोलीले पनि आफ्नो करियरमा पहिलोपल्ट ग्राण्ड स्ल्याम फाइनलमा स्थान बनाएका छन्। ज्वेरेवले यसअघि ३ पल्ट ग्राण्ड स्ल्याम फाइनल खेलेका थिए तर तीनैपल्ट उनले हारको सामना गर्नु परेको थियो। यसमा २०२४-को फ्रेञ्च ओपन फाइनलमा कार्लोस अल्काराजविरुद्ध प्राप्त भएको हार पनि सामेल छ। म्याचपछि ज्वेरेवले भने, यो ग्राण्ड स्ल्याम हो अनि ५ सेटको म्याच हुन्छ। यसमा उतार-चड़ाउ हुन्छ अनि प्रतिद्वन्द्वीले पनि सर्वश्रेष्ठ प्रदर्शन गर्छन्। मैले आज परिस्थितिहरूलाई असल तरिकाले सम्हाले। आइतवार पनि असल म्याच खेल्न सक्ने आशा गरेको छु। २९ वर्षीय ज्वेरेव आफ्नो करियरको ११औं ग्राण्ड स्ल्याम सेमिफाइनल खेलिरहेका थिए जबकि २० वर्षीय मेन्सिक पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको सेमिफाइनलमा पुगेका थिए। यसरी अनुभवको मामिलामा ज्वेरेव स्पष्ट रूपले अघि देखिए। पहिलो सेटमा दुई खेलाड़ीबीच कड़ा प्रतिस्पर्धा भयो तर ११औं गेममा ब्रेक हासिल गरेपछि ज्वेरेवले सेट आफ्नो नाम गरे। दोस्रो सेटमा पनि उनले सजिलै ६-२-ले जीत हासिल गरे। तेस्रो सेटको अवधि मेन्सिकले गर्दनको समस्याले गर्दा मेडिकल टाइम-आउट लिए। त्यसपछि उनले असाधारण पुनरागमन गर्दै ६-३-ले सेट जितेर म्याचलाई रोमाञ्चक बनाए तर चौथो सेटमा उनले फर्मलाई कायम राख्न सकेनन्। मेन्सिकको लगातार गल्तीहरूको फाइदा उठाउँदै ज्वेरेवले शुरुदेखि नै बढ़त हासिल गरे अनि अन्तमा पहिलो म्याच पोइण्टलाई काममा लगाएर उनले म्याच जिते। फ्रेञ्च ओपनमा शीर्ष दावेदारहरू यानिक सिनर र नोवाक जोकोविच शुरुवाती राउण्डमै बाहिर भएपछि ज्वेरेवलाई खिताब जित्ने प्रबल दावेदार मानिएको छ। यसबीच विश्व ऱ्याङकिंगमा १०४औं स्थानमा रहने मातेओ अर्नाल्डीको यादगार अभियानमा विराम लाग्यो। टुर्नामेण्टका आयोजकहरूले अर्नाल्डी भायरल बिमारीले गर्दा खेल्न नआएको जानकारी दिएका छन्। यसैकारण दशौं वरीयता प्राप्त कोबोलीले कुनै मेहनत नगरी फाइनलमा प्रवेश गरे।

About Author

Advertisement