सिलगढी: राज्य सिँचाई विभागले सिलगढीको फुलेश्वरी र जोरापानी नदीलाई जीर्णोद्धार गर्ने पहल गरेको छ। राज्यका सिँचाई मन्त्री पार्थ भौमिक, सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार लगायत अन्यले आज फुलेश्वरी र जोरापानी नदीको निरीक्षण गरे। सिँचाई मन्त्रीले आज बिहान सबैभन्दा पहिला सिलगढी नगरनिगमको वार्ड नम्बर ३६ र ३७-को घोगोमालीमा जोरापानी नदीको निरीक्षण गरेपछि सुभाषपल्लीमा फुलेश्वरी नदी र डाबग्राम क्षेत्रको पनि निरीक्षण गरे। निरीक्षणपछि सिँचाई मन्त्री पार्थ भौमिकले भने, यस वर्ष सिलगढी सहरमा यी दुईवटा महत्वपूर्ण नदीको जीर्णोद्धारको कार्य शुरू गरिएको छ। वर्षको अन्तसम्म यी नदीहरूलाई पूर्व स्थितिमा फर्काइ ल्याउने व्यवस्था गरिनेछ। अर्कोतिर, मेयर गौतम देवले भने, फुलेश्वरी र जोरापानी नदीको जीर्णोद्धारको लागि सिँचाई विभागले पहल गरेको छ। सिँचाई मन्त्रीले आज नदीहरूको निरीक्षण गरेपछि उक्त नदीहरूको जीर्णोद्धार सँगसँगै सौन्दर्यीकरणको कार्य पनि गरिने तिनले बताए।










